सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । उनले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
मुख्यमन्त्री रावल विश्वासको मत जुटाउन काठमाडौंमा दौडधूप गरिरहेका हुन् । उनले यसअघि बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि विश्वासको मतबारे छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि मुख्यमन्त्री रावलले विश्वासको मतको विषयमा छलफल भएको बताइएको छ । साथै, उनीहरूबीच बधाई आदानप्रदान पनि भएको थियो ।
माग पूरा नभएसम्म विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अडान लिएपछि मुख्यमन्त्री रावलको दौडधूप बढेको हो । सुदूरपश्चिम प्रदेश सभामा नाउपाका सात सांसद रहेका छन् ।
नाउपाले जेलमा रहेका रेशम चौधरीसहित आफ्ना नेताकार्यकर्ता रिहाइ नहुँदासम्म सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने बताएको छ । नाउपाको सो अडानले मुख्यमन्त्री रावललाई चिन्ता थपेको छ ।
रावल एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई माओवादीका ११, एमालेका १०, नाउपाका सात र राप्रपाका एक सांसदले समर्थन गरेका थिए ।
२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मतका लागि न्यूनतम २७ जना सांसदको विश्वास जित्नुपर्छ ।
यो पनि पढ्नुहोस्- सुदूरपश्चिम प्रदेश : नागरिक उन्मुक्तिलाई फकाउँदै सत्ता साझेदार दल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0