नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेँडामा उपभोक्ताहरूले संयमताका साथ खपत कम गर्नुपर्ने बताएका छन् ।
महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरूले राष्ट्रिय हीतका लागि भए पनि प्याज खपत कम गर्नुपर्ने बताए । उनले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरूले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत कटौति गर्नुपर्ने बेला आएको बताए ।
उनले आम नेपाली उपभोक्ताले राष्ट्रिय हीतको लागि भए पनि सोच्नुपर्ने बेला आएको बताए । उनले विश्व बजारमा प्याज अभाव भइरहेको बेला ९० प्रतिशत वस्तुहरू आयात गर्ने देशले प्याज लगायताका वस्तुलाई खपत कम गर्ने अभियान चलाउन आवश्यक देखिएको बताए । गजुरेलले सरकारले पनि प्याज तथा गोलभेँडा जस्ता तरकारीजन्य कृषि उपजका वस्तुहरू आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताए ।
उनले विश्व बजारबाट आयात हुने वस्तु प्रतिबन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताए । गजुरेलले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरूको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘हामी कहाँ नभएको चीजहरू, जसरी अहिले विश्व आर्थिक आक्रान्त अवस्थामा छ । यो अवस्थामा बढिरहेको अत्यधिक मूल्य वृद्धिलाई सन्तुलनमै मिलाउनका लागि भए पनि दैनिक नभई नहुने दाल भात, तरकारी बाहेकका कुरालाई सकेसम्म कटौती गरेर यो राष्ट्रिय हीतका लागि पनि सम्भावना बोकेको हुनाले गर्न सकिने कुरा रह्यो । आह्वान गर्न सकिन्छ । कत्तिको सहज रूपमा लिनुहुन्छ, उपभोक्तामा भर पर्ने कुरा हो । विश्व बजारमा अभाव भइरहेको बेला, चरम आर्थिक मन्दी भइरहेको बेलामा धेरै जसो ९० प्रतिशत इम्पोर्ट गर्ने वस्तुलाई खपत कम गरौँ, उपभोग कम गरौँ भन्न सकिन्छ ।’
उनले विश्व बजारमा नै प्याजको मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउने उपाय नभएको बताए । उनले प्याज आयातमा असहजता रहेकाले पनि प्याजको मूल्य वृद्धि उच्च रूपमा भएको बताए । उनले कालोबजारी बढ्ने खतरा भए पनि अहिले व्यवसायीहरूले गोदाममा समेत प्याज नभएको बताउने गरेको उल्लेख गरे ।
उनले भने, ‘विश्व बजारमा नै प्याजको मूल्य बढेको छ । यसको खपतलाई अलिकति न्यून गरेर खपत घटाउने विषयमा छलफल गर्नुपर्छ । भारतको उत्पादन क्षेत्रबाटै बढेकोले अरू घटाउने उपाय त छैन । प्याजको मूल्य अस्वाभाविक रूपमा बढ्यो भन्नुको अर्थ के हो भने भारतले पनि जुन समयसम्म सामान्य रूपमा निर्यात गर्थ्यो । एक्स्पोर्ट गर्ने उसलाई बन्द गर्न ४० प्रतिशत थप ड्युटी चार्ज लगाएको छ । त्यसले गर्दा खेरी सहज रूपमा आउन सकेको अवस्था छैन । त्यस कारणले नै हो जस्तो लाग्छ ।’
उनले बजारमा कृषिजन्य वस्तुहरूको मूल्य वृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताए । उनले व्यावसायिक सहजताको लागि राज्यको नीतिगत व्यवस्था राम्रो हुन आवश्यक रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0