अर्थमन्त्री महतको घोषणा : बाह्य लगानी भित्र्याउन छिट्टै लगानी शिखर सम्मेलन गर्दैछौँ
‘आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरू देखिन थाले’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रबार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२औँ वार्षिकोत्सवको अवसरमा उनले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीको लगानीसमेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको बताएका हुन् ।

अर्थमन्त्री महतले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरू देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।

‘हाम्रो विदेशी मुद्राको सञ्चिती राम्रो छ । पर्यटक आगमन वृद्धि भइराखेको छ । त्यसले पनि आर्थिक गतिविधि बढाउँछ । हाइड्रोपावरमा एउटा प्रगति लय पक्रिराखेको छ । र, इन्डियासँग जुन सम्झौता भएको छ १० हजार मेघावाटसम्म विद्युत खरिद गर्ने दश वर्षमा,’ अर्थमन्त्री महतले भने, ‘त्यसले लगानीकर्तालाई एउटा सुनिश्चित मार्केट प्रदान गरेको छ । त्यस्तै खालको समझदारी हामी चीनसँग पनि आगामी दिनमा हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । त्यसले एउटा थप बजारको सम्भावना छ ।’  



नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढ्ने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले बताए ।

उनले भारतमा १० हजार मेघावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए । 



‘हामी पहिला पर्यटनको कुरा गर्दा पश्चिमी देशहरूको पर्यटकको कुरा मात्रै हाम्रो दिमागमा आउँथ्यो । अथवा जापानको हाम्रो दिमागमा आउँथ्यो । अहिले हाम्रो छिमेकी देशहरूमा आर्थिक उन्नती, प्रगति भइराखेको छ । त्यसले एउटा धेरै ठूलो सम्भावना टुरिजममा छ । तेस्रो सम्भावना हाम्रो यो एग्री सेक्टरमा पनि ठूलो सम्भावना छ । जुन हाम्रो टोपोग्राफी छ । भेराइट क्लाइमेट छ । त्यसले एउटा सहज वातावरण दिन्छ नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ,’ मन्त्री महतले भने, ‘अहिले आईटी सेक्टर यो वृहत् सम्भावनाको क्षेत्र छ । त्यसमा मेजर इन्भेष्टरहरूलाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरू छन् । तिनीहरूलाई हामीले ल्याउन सक्नुपर्दछ । र, हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौँ । त्यसको लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि सुरु गर्छौँ । बजेटमा पनि हामीले बोलेका छौँ ।’ 

उनले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने विश्वाससमेत व्यक्त गरे । 

  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार १३:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया