भोजपुरका चिराइतो खेतीतर्फ किसानको आकर्षण बढेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो ।
चिराइतो बिक्रीबाट वार्षिकरूपमा १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताए । यस वर्ष आफ्नो बारीमा करिब ६० मन (४० केजीको एक मन) चिराइतो उत्पादन हुने उनको भनाइ छ ।
राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको बताए । ‘हाम्रो ठाउँका धेरै किसानले व्यावसायिक रुपमा चिराइतोको खेती गर्दै आएका छन्’, उनले भने, ‘अन्य बालीको तुलनामा यसबाट आम्दानी पनि मनग्य हुने र खेती गर्न पनि सजिलो छ ।’
उनले यस वर्ष करिब ६० मन उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै बजार मूल्य राम्रो भएमा १० देखि १५ लाखसम्म आम्दानी हुने जानकारी दिए । यहाँप्रति किसानले २० देखि ५० मन उत्पादन गर्ने राउतले बताए ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीहरू बताउँछन् ।
विगतका वर्षका तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको स्थानीय कृषक प्रेमबहादुर बस्नेतले बताए । ‘यसबाट राम्रो आम्दानी लिँदै आएको छु’, उनले भने, ‘बर्सेनि मूल्यमा वृद्धि भइरहेको अवस्था छ । त्यही भएर पनि धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।’
चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने बस्नेतको भनाइ छ । आलु, मकैबाट ५० हजार आम्दानी गरेकामा सोही बारीमा चिराइतो खेती गर्दा ५ देखि ७ लाख रुपैयाँसम्म आम्दानी लिन सकिने उनले जानकारी दिए ।
ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि औषधिका रूपमा चिराइतो प्रयोग गर्न सकिने कृषक राउतको भनाइ छ । उनका अनुसार यसको पात, डाँठ, जरा लगायत सम्पूर्ण भाग प्रयोग गर्न सकिन्छ ।
यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् ।
१ हजार ५ सय मिटरदेखि २ हजार ५ सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0