उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताएका छन् । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उनले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने उल्लेख गरेका छन् ।
उनले मौलिक संस्कृतिलाई ओझेलमा पार्ने, आर्थिक भार पर्ने गरी चाडबाड मनाउने विकृतिलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना सबैले गर्नुपर्ने उल्लेख गरेका छन् । उपराष्ट्रपति यादवले हरितालिका तीज हिन्दू महिलाहरूले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने मौलिक र महान पर्व भएको उल्लेख गरे ।
हरेक वर्षको भाद्र शुक्ल तृतीयामामा मनाउने यो वर्षको अघिल्लो रात (द्वितीया) दर खाएर तीजको दिन व्रत बस्ने चलन रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले चौथीका दिन स्नान गरी व्रतको पारण गरी खाना खाने र तीजको तेस्रो दिन (ऋषिपञ्चमी) का दिन व्रतालुहरुले दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्ने परम्परा रहेको बताएका छन् ।
तीजमा विवाह गरेर गइसकेकी छोरीचेलीलाई माइतीबाट बाबु वा दाजुभाइले भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलनले माइती र चेलीबीचको आपसी सम्बन्धलाई प्रगाढ र बलियो बनाउने उनको भनाइ छ ।
‘यो अवसरमा दिदीबहिनीबीच हुने भेटघाटले चेलीहरूको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइ दिन्छ’, उपराष्ट्रपति यादवले शुभकामनामा भनेका छन्, ‘तर यो पर्वका अवसरमा सामाजिक सद्भाव र मेलमिलापलाई नै धुलमुल्याउने गलत संस्कृति र प्रवृतिलाई निस्तेज गर्नुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0