ललितपुर पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन ।
झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन । संरक्षणको अभावले वरिपरी उम्रिएका घाँसहरूले भवनलाई घेरेका छन् । छेउका बोटबिरुवाहरू बढेर श्रीमहल नै ढाक्न थालेका छन् ।
राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरूका लागि निर्माण गरेको श्रीमहलमा भूकम्पअघि स्थानीय विकास मन्त्रालय थियो । त्यसको केही समयपछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय सञ्चालन भएको थियो । भूकम्पपछि स्थानीय पूर्वाधार विभाग श्रीमहल छेवैको भवनमा सरेको छ ।
भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनःनिर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो । तर, पछि प्राविधिक त्रुटी देखाउँदै हात झिकेको थियो । आफैँ निर्माण गर्छौँ भनेर जिम्मा लिएको स्थानीय पूर्वाधार विभागले पनि काम गर्न नसकेपछि अहिले सहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ ।
स्थानीय पूर्वाधार विभागका उपसचिव प्रेमप्रसाद लुइँटेलका अनुसार चालू आर्थिक वर्षदेखि श्रीमहल पुनः निर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । उनले भने, ‘श्रीमहल पुनः निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागलाई कागजात हस्तान्तरण गरेका छौँ । श्रीमहल पहिलेकै संरचनामा निर्माण हुने सहमति भएको छ ।’
हाल चारैतिरको भाग जीर्ण देखिएको श्रीमहलको परिसरमा पर्खाल भत्केर झरेका इँटा छरिएका छन् । भवन भूतबङ्गला जस्तै भएको छ । श्रीमहल परिसरमा आदिवासी जनजाति आयोग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनालगायत अन्य सरकारी कार्यालयका भवन छन् । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0