अर्थमन्त्री डा. प्रकाशशरण महतले, अर्थतन्त्र समस्याग्रस्त भए पनि सकारात्मक सूचक बढ्दै गएकोले आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित निक्षेप तथा कर्जा सुरक्षा कोषको ५० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सूचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्सले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
उनले भने, ‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन्, घटिसकेका छन् । पर्यटक आगमन बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ । अर्थतन्त्रमा रिर्सोस आइरहेको छ, तर चलायमान भएको छैन ।’
अर्थतन्त्र चलायमान हुँदा आर्थिक गतिविधि बढ्ने र राजश्वमा परेको दबाब अन्त्य हुने बताएका उनले त्यसका लागि सबैले सकारात्मक प्रयास गर्नु पर्नेमा जोड दिए ।
४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्सले सुरक्षा दिइरहेको मन्त्री डा. महतले बताए ।
उनले भने, ‘यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दूर दराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0