क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले प्रस्तावित शिक्षा विधेयकले शिक्षाको व्यापारीकरणलाई संस्थागत गरेको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रस्तावित शिक्षा विधेयकले शिक्षालाई व्यापारीकरण गरेको आरोप लगाएका हुन् ।
‘नेपालमा शिक्षा र स्वास्थ्य जस्तो मानिसको मौलिक अधिकारमाथि व्यापारीकरण गर्ने अपराध राज्यले गरेको छ । त्यसको अन्त्य गर्नुपर्छ । यो शिक्षा विधेयकले शिक्षालाई घुमाउरो तरिकाले व्यापारीकरणलाई संस्थागत गरेको छ,’ उनले भने ।
सरकारले शिक्षामा परिवर्तन ल्याउन खोजे जस्तो गरेर जनतामा भ्रम मात्रै छरेको टिप्पणी गरे । ‘शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने लामो समयदेखिको मागलाई सरकारले शिक्षा विधेयक ल्याएर शिक्षा प्रणालीमा परिवर्तन दिन खोजेको एउटा भ्रम दिन खोजेको छ । तर जुन विधेयक छ त्योभित्र कुनै पनि परिवर्तन छैन । सामान्य परिवर्तन होला तर आधारभूत रूपमा परिवर्तन छैन । तर भ्रम दिने कोसिस भने भएको छ । ’
सरकारले षड्यन्त्रपूर्ण तरिकाले शिक्षकहरूको माग पूरा नगरी गुमराहमा पार्न खोजेको आरोप लगाए । उनले भने, ‘फेरि शिक्षकहरूमाथि जुन प्रकारको प्रताडना हिजो चल्दै आएको थियो त्यसलाई निरन्तरता दिने र शिक्षामाथि जुन प्रकारको लुट, व्यापारीकरण, माफियाकरण चल्दै आएको छ, त्यसलाई निरन्तरता दिने शैलीमा कामहरू गर्दै आइरहेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0