नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन् । अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको ओलीको आरोप छ ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको पनि बताए ।
‘सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिराखेको छ । अपराधी जेलमा बस्नु पर्दैन । प्रोफेसरको ढाँड भाँचिदियो भने मुद्दा फिर्ता लिन्छ । प्रोफेसरको जिन्दगी बर्बाद भइराखेको छ । एउटा क्रिमिनलको मुद्दा नचलाउन खोज्छ । दबाब दिएर चलायो भने फिर्ता लिन्छ,’ ओलीले भने, ‘राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुशीका साथ स्वीकार्नु हुन्छ । अब यो स्थितिमा अब राज्यको यो ग्रयाजुएशन, विकास, गरिवी निवारणलगायतका कुराहरूमा राज्यको ध्यानै छैन ।’
शुक्रबार पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउनेभन्दा पनि हिंसालाई उत्सवको रूपमा मनाउनेतिर रहेको पनि दोहोर्याए ।
१ फागुनमा माओवादी विद्रोहको सुरु भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय स्मरण गराउँदै उनले सरकारले हिंसालाई उत्सवको रूपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने उल्टो बाटो लिएको बताए । ओलीले सरकारले ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताए ।
‘हिंसालाई राष्ट्रिय दिवसको रुपमा बिदा मनाएर । तपाई आफ्ना कार्यकर्तालाई पैसा बाँड्दै हुनुहुन्छ । हिंसा दिवस मनाएर उन्माद चढाउँदै हुनुहुन्छ । र, शान्ति प्रक्रिया टुंगो लगाउँदै हुनुहुन्छ । यो कुरा गर्नु हुन्छ । हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने कुरा हो र ? एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन, उसमाथि अन्याय र अपमानले घोचेर शान्ति प्रक्रिया टुंगो लाग्छ ? मैले यो प्रसंग किन मात्रै भनेको हो भने सरकारको ध्यान कता छ ? यतिबेला के हिंसालाई उत्सव मनाउनुपर्ने थियो र ? थिएन,’ ओलीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0