उपप्रधानमन्त्री श्रेष्ठको चेतावनी- धार्मिक द्वन्द्व फैल्याउन खोजे कारबाही हुन्छ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सबै धार्मिक संघ, संस्थाहरूलाई अपिल गरेका छन् ।

व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरूले पनि पहल गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।   

एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उनले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गरे । 



‘मेरो यो विनम्रतापूर्वक अनुरोध छ । हामीले विनम्रतापूर्वक विनयशीलतासहित हाम्रो धार्मिक आस्थाको रक्षा गर्नसक्छौँ । त्यसरी मात्रै हामीले हाम्रो देशको यो मौलिक पहिचान, संस्कृति र विशेषताको रक्षा गर्नसक्छौँ । त्यस निम्ति म विशेष अनुरोध गर्न चाहन्छु । जहाँसम्म धर्मकै पनि परिभाषा गरौँ है । अलि ठीक छैन कि भन्ने छ । अहिले त हामीले संविधानलाई लागू गर्ने हो, कानुनलाई लागू गर्ने हो । त्यो पनि विषय हुनसक्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘छुट्टै छलफल विनम्रतापूर्वक गर्न सकिन्छ प्राज्ञिक, बौद्धिक छलफलहरू । त्यसैगरी अरू सुझावहरू पनि हामी दिनसक्छौँ । तर, अहिले भने हाम्रो इतिहासदेखिको मौलिक पहिचानसहितको विशेषता छ कि हाम्रो विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको बीचको विविधताबीचको एकता, सद्भाव र सहिष्णुता, त्यसको रक्षा गर्नु चाहिँ हाम्रो परम कर्तव्य हो भन्ने हामीले ठान्नुपर्दछ ।’

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिलाई बोलाएर उनले मुलुकमा नियोजितरूपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिए ।   



एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्ति देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढ्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । 

‘एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरु देखापरेका छन । त्यो जोसुकै भएपनि सम्झाएर, बुझाएर हामीले रोक्नुपर्छ । र, त्यसरी हामी एकतावद्ध भएर यो अभियान चाल्दाखेरी त्यो रोकिन्छ । तर, त्यतिखेर पनि नियोजित रुपमा कहीँकतैबाट तपाईँहरूले यहाँ संकेत गरेजस्तै त्यसप्रकारका गतिविधि गर्न खोजिएको हो भने हामी प्रशासनिकरूपमा पनि दृढतापूर्वक अघि बढ्छौँ,’ उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई सम्झाएर नियन्त्रणमा लिन चाहेको पनि दोहोर्याए । 

  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १९:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया