शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।
कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । कागे अष्टमीसमेत भनिने यस मेलामा देशका विभिन्न भागबाट भक्तजन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गर्छन् ।
भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी पुगेर पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ ।
श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।
मन्दिर परिसरमा हाल २ सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा १ हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ ।
एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरसमेतको नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको हो । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।
नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । आजदेखि सुरु भएको तीन दिने महोत्सव आइतबारसम्म चल्ने उनले बताए । कागेश्वरी मन्दिर क्षेत्रमा फागुन महिनामा पनि महोत्सव आयोजना हुन्छ ।
फागुन र भाद्र शुक्ल अष्टमीमा हुने महोत्सवका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनसमेतको प्रदर्शन गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0