सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति हिगिन्सबीच शिष्टाचार भेट

आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन्।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । 

‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसद्बीचको सम्बन्धलाई घनिष्ट बनाएको छ’, उनले भने । 

सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गरे । ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मूल्य मान्यताहरु हुन् । लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धतारहेका छन्’, सभामुखको भनाइ थियो ।



सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । उनले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानुनी एवं नीतिगत सुधार भइरहेको जानकारी दिए । 

सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड दिए । उनले आयरल्याण्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थी आकर्षित भएको बताउँदै आवश्यक सहजीकरणका लागि आग्रह गरे । भेटमा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकाबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रुपमा दुवै मुलुक धनी रहेको उल्लेख गरे । 



  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार १०:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया