संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताएका छन् ।
पोखरामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आजदेखि सुरु भएको चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा छलफल हुने बताए ।
चीन र भुटानबाट पोखरा विमानस्थलमा भएको चार्टर उडानले व्यावसायिक सञ्चालनको सन्देश विश्वभर गएको बताउँदै मन्त्री किरातीले पोखरामा नियमित उडान गर्न भारतसँग पनि छलफल भइरहेको जानकारी दिए ।
‘पोखरामा दुईवटा चार्टर विमान उडाएका छौँ, यसबाट पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको सन्देश गएको छ, उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा यसका बारेमा गम्भीरतापूर्वक छलफल हुन्छ । चीनका विभिन्न सहरबाट काठमाडौं आउने जहाजलाई पोखरा डाइभर्ट गर्ने विषयमा छलफल भइरहेको छ ।’
मन्त्री किरातीले पोखरा र भैरहवा विमानस्थललाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनले आफ्नो सात महिनाको कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएको उल्लेख गरे ।
वायुसेवा निगमका क्षेत्रमा जहाज खरिद गर्ने, पशुपतिमा निःशुल्क शवदाहको व्यवस्था र नागरिक उड्डयनका क्षेत्रमा नेपालको आकाशलाई कालोसूचीबाट हटाउने अन्तिम कोसिसलगायतका मध्यमस्तरको परिणाम दिने काम भएको मन्त्री किरातीले बताए ।
मन्त्रालयले नयाँ पर्यटन ऐनका लागि मस्यौदा समिति बनाएको र जनताबाट सुझाव माग गरिएको जानकारी दिँदै उनले संस्कृति ऐन निर्माणका लागि समिति गठन गरिएको र सो समितिको दिशानिर्देशअनुसार पहिलोपटक कानुन निर्माण गरिने बताए ।
मन्त्री किरातीले दुर्गम क्षेत्रमा सेवा दिने गरी स्टल रुटको साना आकारका तीनबाट जहाज गरिद गर्न लागिएको जानकारी दिए । ‘अहिले पनि २२ विमानस्थल खाली छन् । तीनको व्यावसायिक सञ्चालनका लागि साना जहाज चाहिन्छ । तीनवटा जहाज किनेपछि हामीसँग छ जहाज हुन्छन्,’ उनले भने, ‘यसबाट खाली रहेका विमानस्थल सञ्चालन गर्न सकिन्छ । विमानस्थल सञ्चालन भएका नागरिकले सेवा पाउँछन् ।’
सरकारले अन्तर्राष्ट्रियस्तरमा उडान भर्ने गरी ‘न्यारो बडी’ जहाज खरिदको योजना गरिरहेको पनि मन्त्री किरातीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0