काठमाडौं महानगरको श्रम बैंकमा चार सय आवेदन

काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका, तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म चार सय आवेदन परेको कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् । 

उनका अनुसार कामपाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो, सोहीअनुसार महानगरले आवेदन माग गरेको हो ।

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रमुख राईले जानकारी दिइन् । 

‘कामपा केन्द्रमा एक महिनामा चार सय आवेदन परेको छ । कामपाका ३२ वटै वडामा पनि केही आवेदन आएको जानकारी प्राप्त भएको छ,’ उनले भनिन्, ‘कामपाले अहिले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको छ । संकलन भएका आवेदनबाट प्राथमिकीकरण, वर्गीकरणको काम पनि भइरहेको छ ।’



प्रमुख राईका अनुसार बेरोजगारका लागि एउटा आधार तयार गरिदिएको भन्दै, श्रम बैंकमा आबद्ध भएका श्रमिकलाई कामपाले मात्रै नभएर आवश्यकताअनुसार जोसुकैले पनि प्रयोग गर्न सक्नेछन् ।

कामपाले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम लिस्ट हुन्छ । जहाँ श्रमिकको ज्याला दर, कामको प्रकार फोन नम्बर र श्रमिक कहाँ बस्नेसमेत उल्लेख गरिएको हुन्छ । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको सहजरूपमा श्रमिक उपलब्ध गराई सीप, क्षमता भएका श्रमिकलाई काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गरी रोजगार दिलाउनु हो ।



चालू आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत भर्नुपर्नेछ । आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएको छ । फारम आफू बसेको वडा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउन पर्नेछ ।

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ, तर काठमाडौंमा बसोबास भएको हुनुपर्ने बताइएको छ । यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।

  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार २१:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया