चीनमा प्रधानमन्त्री दाहाल यस्तो रह्यो आजको उच्चस्तरीय भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेका छन् । प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर पुगेका हुन् । 

आज स्थानीय समयअनुसार बिहान साढे १० बजे उनी सो सहरको हाङ्चाओ विमानस्थलमा अवतरण गरेका थिए । उनलाई सो विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल न्युयोर्कबाट नै चीन आएक हुन् । यही सेप्टेम्बर २२ मा नेपालका तर्फबाट सो महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल चीनको औपचारिक भ्रमणका लागि यहाँ आएका​ हुन् । प्रधानमन्त्री दाहालको भ्रमणदलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अन्य सदस्यहरू पनि छन् । 

त्यसैगरी, आजै प्रधानमन्त्री दाहाल सोही सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी भए । त्यहाँ उनलाई चिनियाँ खेलकुद अधिकारीहरूले स्वागत गरेका थिए । 



त्यसैगरी, आजै हाङ्चाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गरेको दिवाभोजमा सहभागी भए । त्यस अवसरमा नेपालको भ्रमण दलका अन्य सदस्य पनि सहभागी थिए । 

आजै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरे । उनीहरूबीचको सो वार्तामा द्विपक्षीय हित र चासोका साथै नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 



त्यस्तै, प्रधानमन्त्री दाहाल भोलि आइतबार चीनको राजधानी सहर बेइजिङ आउने कार्यक्रम छ । उनी आइतबार बिहान ११ः१० बजे आइपुग्ने कार्यक्रम रहेको छ । 

बेइजिङमा भोलि हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् । 

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । 

आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । 

त्यस्तै, सोमबार प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नेछन् । त्यस्तै, सोमबार नै प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । 
    
उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ । 
    
त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।

  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार २२:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया