नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले पुरानो ढर्राले नयाँ पुस्तालाई समेट्न नसकिने बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा देशभित्रै २० लाख युवा मतदाता थपिने बताउँदै पुरानो ढर्राले उनीहरूलाई समेट्न नसकिने बताए ।
उनले भने, ‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदै छन् । अहिले सर्वोच्च अदालतको निर्देशनअनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ । नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट्र हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो ? पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ती ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन ?’
कांग्रेस नेता चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति नयाँ बनाउनुपर्ने बताए । पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
उनले पार्टीमा संघर्ष गरेका, जेलनेल भोगेका नेताहरू सँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमावान् व्यक्तिहरूलाई पनि अवसर दिनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0