शहर पस्न थाले जंगली हात्ती, स्थानीय भन्छन्- जंक फुडको स्वादमा पल्किए
‘जङ्गलै फर्काउन फलफूल रोपौँ’

झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन् । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत १८ असारको बिहान ५ बजेको घटना हो, फूल टिप्दाटिप्दै ऐया पनि भन्न नपाई उनलाई जङ्गली हात्तीले लपेटेर किच्यो । जङ्गली हात्तीको आक्रमणमा परेर पन्नादेवीको घटनास्थलमै ज्यान गयो ।

१९ असारमा अर्जुनधारा–३ की १३ वर्षीया इक्सा लिम्बू छिमेकी भाउजूको घरमा साथी बस्न गएकी थिइन् । राति ३ बजेतिर आहार खोज्दै आएको जङ्गली हात्तीले घर भत्काउन थाल्यो । इक्साकी भाउजू जसोतसो भागेर अर्को घरमा पुगिन् । तर, उनी भने हात्तीको सुँढमा बेरिइन् । 

हात्तीको दाह्राले घोचिँदा उनको पेटमा ठूलो प्वाल नै पर्‍यो । चन्दा उठाएर घाइते इक्साको बल्लतल्ल उपचार भएको छ । गत वर्ष बुद्धशान्ति–५ की सम्झना श्रेष्ठलाई स्कुटर चढेर सडकमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रामक हात्तीले श्रेष्ठको ज्यान नै लियो । 

जङ्गलमा विचरण गर्ने हात्तीहरु पहिले पहिले गाउँवस्तीमा कहिलेकाहिँ मात्र आउँथे । शहरतिर पसेको त बिरलै सुनिन्थ्यो । अहिले दिनभरि जङ्गलतिर बस्ने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा शहरका मानव वस्तीतिर चहार्ने गरेका छन् । 



झापामा दिउँसो जङ्गली हात्ती देखिनु सामान्य जत्तिकै भएको छ । झापाको उत्तरी भाग बाहुनडाँगीबाट प्रवेश गरेका सयौं हात्तीको हुल केही अवधि डुलेपछि भारततिरै फर्किने गरेका छन् तर रैथाने हात्ती भने जिल्लाका हरेक पालिकाका वस्तीसम्मै देखिने गर्छन् ।

आहार खोज्दै बजारतिर 



गत महिना पूर्वपश्चिम राजमार्गको कनकाई खण्डमा पर्ने सुरुङ्गामा हात्तीले रातभर बजार डुलेको भिडियो भाइरल भएको थियो । एक्लै पुगेको हात्तीले पसलमा राखिएको स्वादिष्ठ खानेकुरा र नुन छानीछानी खाएको थियो । 

सुरुङ्गा बजारमा जङ्गली हात्ती डुल्दा जनधनको सुरक्षाका लागि रातभर प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले हात्तीलाई अनेक प्रयास गरेर सुरक्षितरूपमा जङ्गलतिर धपाएका थिए ।

भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष राम दाहालका अनुसार जङ्गली हात्ती भद्रपुरको सहरिया वस्तीमा बारम्बार आउने गरेको छ । भद्रपुर–९ को पारिजात चोक, प्रणामी टोल र पुहातुबारीमा नजिकैको निचाझोडा जङ्गलबाट हात्ती आउने गरेको छ ।

बाहुनडाँगी, खुदुनाबारी, चारआली, बुधबारे, पुहातुबारी, जलथल, घेराबारी, धुलाबारी, ज्यामिरगढी लगायतका मानव वस्ती रहेको क्षेत्रमा हात्ती रातैपिच्छे आउने, बाली खाने, घरगोठ भत्काउने, मानिसलाई आक्रमण गर्ने घटना बढिरहेको छ ।

हात्ती संरक्षण अभियानमा लागेका शंकर लुइँटेलका अनुसार झापामा भारतको सुकुना जङ्गलबाट प्रवेश गर्ने र स्थानीय जङ्गलमा डुलिरहने गरी दुई खाले जङ्गली हात्ती पाइन्छन् । उनका अनुसार गत वर्ष एकैखेपमा ३० वटा हात्ती भारतबाट पसेका थिए । ती अहिलेसम्म फर्केका छैनन् । झापा, मोरङ र सुनसरीको सामुदायिक वनहरूमा ती हात्ती बाँडिएर डुलिरहेको लुइँटेलको भनाइ छ । 

यसबाहेक झापाका सामुदायिक वनहरूमा वर्षौंदेखि आश्रय लिँदै आएका १३ वटा रैथाने हात्ती छन् । रैथाने हात्ती एक्लै बस्छन् र एक्लै शहरतिर पस्छन् । एक्ले हात्ती धेरै अटेरी र क्षतिदायक हुने गरेको छ । भारतबाट गत वर्ष आएका हात्ती झुण्ड झुण्डमा जंगलभित्रै बसेका छन् । 

‘जङ्गलमा आहार पाइँदैन, वस्ती नपसेर कहाँ जाऊन्,’ संरक्षण अभियन्ता लुइँटेल भन्छन्, ‘हात्तीले खाने आहार जङ्गलभित्र पाउन छाडेकाले तिनीहरू खानेकुरा खोज्न गाउँ र शहरतिर निस्किन बाध्य भएका छन् ।’ वनभोज स्थलमा मानिसले फ्याँक्ने प्लास्टिकका थैलीमा रहेका नुनिला र स्वादिला खानेकुरा चाट्न पल्किएका रैथाने हात्तीले सहर पसेर त्यस्तै आहारको खोजी गरिरहेको उनको भनाइ छ ।

मेचीनगर–४ का वडाध्यक्ष एवं हात्ती संरक्षण अभियन्ता अर्जुन कार्की जङ्गली हात्तीलाई आहार हुने विभिन्न फलफूलका बिरुवा जङ्गलभित्र हुर्काउन सके हात्ती सहर र वस्ती पस्ने क्रम रोकिने धारणा व्यक्त गर्छन् । उनले एक दशकदेखि सीमावर्ती मेची नदीको बगर र सामुदायिक वनहरूमा हात्तीका लागि प्रिय केरा, कटहरलगायतका फलफूलका विरुवा लगाउनुपर्ने वकालत गर्दै आएका छन् ।  

हात्तीलाई पल्काउने फलफूल जङ्गलमा हुर्काउँदा हात्तीले स्थानीय वन क्षेत्रलाई स्थायी वासस्थान बनाउँलान् भनेर कतिपय स्थानीयवासी कार्कीको योजनासँग सहमत छैनन् ।

गोबरमा चाउचाउको खोल

जङ्गली हात्ती पछिल्ला वर्षहरूमा नुनिला र गुलिया तयारी खानेकुरा (जंक फुड) को स्वादमा पल्किएको हुनसक्ने प्रमाण भेटिएका छन् । हात्ती छिर्ने नेपाल–भारतको गौंडाहरू रहेको मेचीनगर–४ को बाहुनडाँगी क्षेत्रमा हात्तीले त्याग गरेको मलमा चाउचाउ, बिस्कुट र कुरमुरेका प्याकेटका खोल बारम्बार भेटिएको वडाध्यक्ष कार्की बताउँछन् । ‘जङ्गलको वनभोज स्थलहरूमा फ्याँकिएका खानेकुरा चाटेर खोलसँगै हात्तीले निल्ने गरेका छन्,’ कार्कीले भने, ‘त्यहीकारण मेची खोलाका बगर र बनमा हात्तीको गोबरमा चाउचाउ, बिस्कुट र प्लास्टिकका खोल भेटिन थालेको हो ।’

चाउचाउलगायतका नुनिला तयारी खानेकुरामा पल्किएको हात्ती त्यही खानेकुराको खोजीमा शहर पस्ने गरेको र जम्काभेटमा मानवीय क्षति समेत हुने गरेको उनी बताउँछन् । हरेक दिन २०० केजी आहार हात्तीले खाने गरेका छन् । जङ्गलमा आहारको गुञ्जाइस नभएपछि हात्तीले गाउँका भान्साकोठा र सहरका पसल तोडफोड गर्दै आएका छन् ।

गत वर्ष झापामा आठ जनाको मृत्यु र सात घाइते भएका थिए । मानिसको आक्रमणबाट दुई हात्ती मरेका थिए । यसरी मानव–हात्तीबीचको द्वन्द्व वर्षौंदेखि चल्दै आएको छ । मानिस र हात्तीले एउटै स्थानलाई आफ्नो बासस्थान बनाउँदै आउँदा द्वन्द्व चर्किएको हो । 

झापामा पाँच अघिदेखि जङ्गली हात्तीका कारण स्थानीयबासीले जनधनको क्षति व्यहोर्दै आएका छन् । झापामा विगत १२ वर्षमा हात्तीले ६२ जनाको ज्यान लिएको र करोडौंको धनमाल क्षति गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
    
‘जङ्गलै फर्काउन फलफूल रोपौँ’

जङ्गली हात्तीको उपद्रो उत्कर्षमा रहे तापनि मानव वस्ती, बाली र भौतिक सम्पत्ति जोगाउन हालसम्म गरिएका प्रयासहरू शत प्रतिशत भरपर्दो साबित हुन सकेका छैनन् । पटाका पड्काउने, फक्स लाइट बाल्ने र हवाई फायर गर्नेदेखि सीमा क्षेत्रमा सात किलोमिटर लामो सुरुङ खन्ने परियोजनाहरू विगतमा प्रयोग गरिए । अहिलेसम्मका प्रयासमध्ये सौर्य विद्युतीय घेरबार सबैभन्दा लाभदायक देखिएको छ । 

सङ्घीय र प्रदेश सरकारले विभिन्न कालखण्डमा विद्युतीय घेराबेराका लागि करोडौं बजेट विनियोजन गरिसकेका छन् । तर, जङ्गलको हात्तीलाई जङ्गलमै फर्काउन उसका लागि मनपर्ने फलफूलका विरुवा जंगलमा रोप्ने योजनामा भने कसैले पनि बजेट हालेका छैनन् । ‘घेराबाराले मानववस्तीसँगै अन्नबाली समेत जोगाउने भएकाले यो प्रोेजेक्टमा सरकारले लगानी बढाउँदै आएको हो,’ मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भनिन्, ‘हात्ती आफ्नो बाटो हिँडोस्, जङ्गलभित्रै डुलफिर गरोस्, तर वस्ती पसेर मानिसमाथि आक्रमण गर्ने र बालीनाली खाएर विनाश गरिदिने कार्य बन्द होस् भनेर विद्युतीय घेराबेराका लागि हामीले केन्द्रसम्मै पहल गर्दै आएका छौँ ।’  

झापाको प्राकृतिक जङ्गलको रूपमा निचाझोडा र जलथल चारकोसे झाडी रहेका छन् भने दर्जनौं सामुदायिक बन जिल्लाभर फैलिएका छन् । दक्षिणको कचनकबलदेखि उत्तरको बाहुनडाँगीसम्मको १२० किलोमिटर लामो सौर्य विद्युतीय घेराबेराको कार्य अन्तिम चरणमा पुगिसकेको छ । निचाझोडा, जलथल, पाँचपोखरी, जुकेखाडी, तेलपानी र रतुवामाई वृक्षारोपण आयोजनाको जंगलभित्र रैथाने हात्तीले बासस्थान बनाएका छन् । 

ती जङ्गलभित्र हात्तीका लागि खाने आहारको अभाव भएको हुँदा भोकाएका हात्तीहरू साँझ पर्नासाथ मानव वस्तीतिर पस्ने गरेको जानकारहरू बताउँछन् । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल मानिसले आफ्नो मात्र नभएर यो धर्तीकै सबैभन्दा ठूलो प्राणी हात्तीको सुरक्षित बासस्थान र आहारका पहल गर्नुपर्ने धारणा व्यक्त गर्छन् ।  

‘हात्तीको सबैभन्दा ठूलो संकट नै आहारको खोजी हो,’ खरेलले भने, ‘दैनिक २०० केजी आहार नभए उसको पेट भरिन्न । अहिलेको जङ्गलमा बाँदर र चराले खाने आहार नै छैन । हात्तीहरू बाँच्नका लागि आहारको खोजी गर्दै मानव वस्तीमा पस्ने गरेका छन् । जङ्गलमा हात्तीले रुचाउने फलफूलका बिरुवा हुर्काउने हो भने यसबाट हात्ती आफ्नै बासस्थानमा फर्किने सम्भावना छ ।’ रासस

  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १३:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया