राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् ।
उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए । लामिछानेले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भए पनि सलाईको काँटी जति पनि नपड्किएको टिप्पणी गरे । उनले शंकाको घेरामा रहेका व्यक्तिहरू मोबाइल फर्म्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनी आशङ्का व्यक्त गरे ।
उनले भने, ‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरू हेर्दा खेरी भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरूले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरूलाई भाग्ने समय दिइयो कि ? मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरूको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन । सलाईको काँटी जति पनि पड्किएन ।’
सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताए । उनले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुनसक्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0