सुन तस्करीको अनुसन्धानमा सरकारले हस्तक्षेप गरेको छैन : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशङ्का व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । 

उनले सिआइबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारे । उनले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुर्‍याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे । उनले सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडि बढ्ने बताए ।

उनले भने, ‘सिआइबीलाई आफ्नो सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिराइमा पुग्न गृह प्रशासनको तर्फबाट मैले बारम्बार निर्देशन दिएको छु । बरु अनुरोध नै गरेको छु । कतिपय कस्तो हुँदो रहेछ भने यताबाट देख्दा खेरी राजनीतिक तवरबाट पनि कमजोरी गरियो कि भनेजस्तो लाग्छ । हामीलाई के लाग्छ भने कतिपय त प्रधानमन्त्रीले बाहिरै भनिदिनु भयो, होइन राजनीतिक नेतृत्वलाई फसाउन खोजेको त होइन यत्रो आउँदा खेरी पनि नगर्ने प्रहरी प्रशासन भनेजस्तो कुरो पनि यहाँ चर्चा चल्यो । दृढतापूर्वक हामीले भनेका छौँ तपाईँहरू जहाँसम्म जानुपर्छ जानुस् । तथ्य, प्रमाणले जे देख्नुहुन्छ त्यहाँसम्म जानुस् भनेका छौँ । अहिले पनि हामी त्यसमा दृढ छौँ ।’




गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दु युवाहरूमाथि सांघातिक हमला भएको थियो । त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिरहेको उल्लेख गर्दै आवश्यक परेमा एक-दुई दिनमै नयाँ निर्णय लिइने बताए । उनले प्रहरी संयन्त्रको कमजोरी हुन नदिने पनि बताए ।
 



  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १५:१५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया