नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रो पटक म्याद थप गरिएकोप्रति आपत्ति जनाएका हुन् ।
अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका थिए । पन्तले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रो पटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षा मन्त्रीको जवाफ माग गरे । उनले माओवादीबाट नेपाली सेनामा आएकाहरूलाई पक्षपात र भेदभाव गर्नु नहुने तर विशेष रूपले काखी पनि च्याप्नु नहुने बताए ।
उनले भने, ‘कुनै नजिर आजसम्म थिएन नेपाली सेनामा यसरी राजनीतिकरण गरिएको । यहाँ किन राजनीतिकरणको प्रयास भयो भन्नुहुन्छ भन्दा खेरी उहाँ सहायक रथी हुनुहुन्थ्यो प्रक्रियाबाट केही आपत्ति थिएन । माओवादी पृष्ठभूमिबाट आएको जो समायोजन भएका छन् नेपाली सेनामा उनीहरूलाई पक्षपात गरिनु हुँदैन । तर पक्षपात, भेदभाव गरिनु हुँदैन भन्नुका साथसाथै उनीहरूलाई विशेष रूपले काखी च्याप्ने काम गरेर सेनामा अरूको मनोबल घटाउने र गलत नजर स्थापित गराउने काम हुनु हुँदैन । रक्षा मन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ ।’
उनले दुई पटक म्याद थप गरेर सरकारले गलत नजिर स्थापित गराएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0