उदयपुरको त्रियुगा नगरपालिका–१५का दलनारायण श्रेष्ठले खेत बाँझै राख्न थालेको १० वर्ष भयो । कारण हो– बाँदरआतंक । घरदेखि १५ मिनेट टाढा रहेको खेतमा फलेको अन्न घर नभित्र्याएको १० वर्ष भइसक्यो । पहिला–पहिला मुरीका मुरी धान, मकै, दाल घर भित्र्याउँथे । खेतमा बादर कमै लाग्थ्यो । वरिपरिका सबैले खेती गर्थे । तर, पछिल्लो समय बादर आतंक बढ्दो छ । जसका कारण उनले खेत बाँझै राख्न बाध्य भएका हुन् ।
‘खेत बाँझै नराखेर के गर्ने ?,’ उनी प्रश्नको शैलीमा भन्छन्, ‘पहिला–पहिला पो बाँदर कमै लाग्थ्यो । सबैले खेती गर्थे । अहिले त जताततै बाँदरैबादर । जे रोपे पनि बाँदरलाई पुग्दैन । अहिले एक बाली धान लगाउँछु । धान पनि खाएर सखाप पारिदिन्छ । परालका लागि मात्रै भए पनि जसोतसो रोपिरहेको छु । अब त त्यही पनि छाडौँ कि भन्ने तयारीमा छु ।’
उनका छोराछोरी पढाइलेखाइ र कामको सिलसिलामा सहरमा छन् । घरमा श्रीमान्–श्रीमती मात्रै । बाँदर धपाउन जाने फुर्सद उनीहरूलाई हुँदैन । दलनारायण त एउटा प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय गाउँका सबैले घर वरपर मात्र खेती गर्न थालेका छन् । तर, अझै पनि बाँदरले छाडेको छैन । अहिले त बाँदरले घरभित्रको अन्नसमेत खान थालेको छ । बाँदरको यही आतंक हो, भने अबको केही वर्षमा विस्तारै गाउँ नै छाड्नुपर्ने स्थिति नआउला भन्न नसकिने उनको भनाइ छ ।
‘सिँचाइको राम्रो सुविधा हुनाका साथै यहाँको माटो उर्वर भएर पनि खेतीपाती गर्नसक्ने अवस्था छैन,’ उनी दुखेसो गर्छन्, ‘पहिला–पहिला यही खेतमा फलेको अन्नले जीविकोपार्जन गथ्र्यौं । अहिले त सबै किनेरै खानुपर्ने बाध्यता छ । हाम्रा खेतबारीमा धान, मकैलगायत सबै बाली उत्पादन गर्न सकिन्छ । तर, खर्च गरेर उब्जनी भित्र्याउनै नपाइने भएकाले खेती नलगाएका हौँ, खेतबारी बाझै राख्नु हाम्रो चाहना होइन, बाध्यता हो ।’
सरकारले जमिन बाँझो नराख्ने नीति तथा कार्यक्रम अगाडि सारे पनि यहाँका बासिन्दा भने बाँदरको आतंकले उर्वर जमिन बाँझै राख्न बाध्य छन् । किसानलाई बाँदरले मात्रै सताएको छैन । विशेष गरेर तराई भेगका किसानलाई नीलगाईले पनि उत्तिकै दुःख दिने गरेको छ ।
नीलगाईले उखु, गहुँ, धनियाँ, तरकारी तथा दलहन बाली खाएर सखाप पार्ने गरेको छ । सयौँका संख्यामा रहेका नीलगाई जुन खेतमा पस्छन्, त्यस खेतको पूरै बाली नाश पार्दै हिँडेका छन् । कतिपय बाली त गाईले कुल्चिएर पनि नष्ट हुने गरेको किसानहरूको भनाइ छ । पहिला–पहिला दिनमा लुकेर बस्ने नीलगाईले रात परेपछि निस्केर किसानका बाली नष्ट गर्थे । तर, अहिले त दिउँसै आएर बाली खान थालेको तराईका किसानको दुखेसो छ । पछिल्लो समय नीलगाईले आतंक नै मच्चाउने गरेको छ ।
यी त भए केही उदाहरण । नेपालका विभिन्न स्थानमा जंगली जनावरले किसानलाई निकै दुःख दिएको र बालीनाली नोक्सान गरेर आजित पारेको खबर दिनहुँ आइरहन्छन् । तर, दीर्घकालीन उपाय भने अझैसम्म पत्ता लाग्न सकेको छैन ।
छैन सरकारलाई वास्ता !
पछिल्लो समय बाँदरसहित जंगली जनावरको बहस प्रतिनिधिसभा सम्म पुग्छ । गाउँघरमा आतंक मच्चाएको भन्दै केही सांसदले बाँदर निर्यातको प्रस्ताव पनि राख्छन् । बालीनाली, अन्नपात, फलफूल खाने तथा नष्ट पार्ने बाँदरको बिठ्याइँले किसानदेखि सरकारी अधिकारीसमेत आजित छन् ।
कतिपय स्थानीय तहमा हरेक वर्षको योजना तर्जुमा गर्दा बाँदर नियन्त्रण र व्यवस्थापन नै पहिलो एजेन्डा हुने गरेको छ । कहिलेकाहीँ जंगली जनावरलाई मार्ने, कि परिवारनियोजन गर्ने भन्ने बहस पनि बेला–बेलामा चलिरहन्छ । तर, किसानका लागि बरदान साबित हुने गरी कुनै उपाय खोजी भएको छैन । बाँदर धपाउने उत्तम उपाय फेला नपार्दा खेतबारी बाँझै राखेर बसाइँ सर्ने क्रम बढ्दो छ । विभिन्न जिल्लामा बाँदरको उपद्रोले किसानको दैनिकी अस्तव्यस्त बनेको छ ।
गत वर्ष कृषि अनुसन्धान परिषद् राष्ट्रिय प्रजनन बाली तथा अनुवाशिंक अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत डा.उज्ज्वलकुमार सिंह कुशवाहाले जंगली जनावरबाट बाली जोगाउने एउटा उत्तम उपाय पत्ता लगाए । उनले खेतबारीमा जंगली जनावर नीलगाई र बाँदरबाट सुरक्षा प्रदान गर्ने नयाँ रसायन पत्ता लगाएका हुन् । उनले तीन वर्षको लामो अनुसन्धानबाट नीलगाई र बाँदर धपाउन एउटा विशेष प्रकारको रसायन ‘ट्राई मेथाइल अमिन’ प्रयोग गर्न सकिने उपाय पत्ता लगाएका हुन् ।
‘किसानको अन्नबालीमा नोक्सान पुर्याउँदै आएको नीलगाई र बाँदर धपाउन मैले पत्ता लगाएको उपायले मद्दत गर्छ,’ उनी भन्छन्, ‘यो रसायनलाई हालसम्म झारनाशक विषादी बनाउन, विभिन्न किसिमका रंगाउने पदार्थ बनाउन, कोलिन रसायन उत्पादन गर्न र बोटबिरुवा विकासका लागि विभिन्न हर्मोन बनाउन प्रयोग गरिँदै आएको छ । ‘ट्राई मेथाइल अमिन’ एउटा अत्यन्तै शक्तिशाली गन्धयुक्त पदार्थ हो । यसको गन्ध कुहिएको माछा र अमोनिया ग्यासझैँ कडा हुने गर्छ । तीव्र गन्धका कारण नीलगाई र बाँदरलगायत जंगली जनावर दिग्भ्रमित भई बालीनाली छाडेर भाग्ने गर्छन् र यसले बाली सुरक्षित हुन्छ ।’
उनका अनुसार ट्राई मेथाइल अमिनको प्रयोगले करिब ९० प्रतिशत केसमा नीलगाई भागेको तथा बाँदर भगाउन ९५ प्रतिशत प्रभावकारी पाइएको छ । साथै, जंगली बँदेल भगाउन पनि करिब ५० प्रतिशत प्रभावकारी देखिएको छ । यो रसायनको प्रयोगले अरू जंगली जनावरबाट पनि खेतबारीलाई सुरक्षित बनाउन सकिन्छ । नीलगाई, बाँदर र बँदेलबाहेक अरू जीवजन्तु वा जनावरमा यसको परीक्षण भने गरिएको छैन । यसरी हालसम्मकै बाँदर र नील गाईबाट बाली जोगाउने हालसम्मकै उत्तम उपाय उनले पत्ता लगाए पनि किसानले उपयोग गर्न पाएका छैनन् ।
यो पहिलोपटक जंगली जनावर भगाउन प्रयोग गरिएको हो । यो रसायन नेपालमा पाइँदैन । विदेशबाट नै मगाउनुपर्ने हुनाले पनि किसानले सहजै उपयोग गर्न नपाएको नार्कका अनुसन्धानकर्ता वैज्ञानिक डा. कुशवाहा बताउँछन् ।
भन्छन्, ‘६ महिनायता किसानले यो केमिकल एकदमै धेरै खोजिरहेका छन् । केही नगरपालिका–गाउँपालिकाका प्रतिनिधिले मलाई भेटेरै पनि केमिकल उपलब्ध गराइदिन आग्रह गरिरहनुभएको छ । तर, नेपालमा पाउन नसकिने हुनाले जति मात्रामा किसानसामु पुग्नुपर्ने थियो, त्यो पुगेको पाइँदैन ।’
यस्तै, यो केमिकल नेपालमा दर्ता भएको छैन । जसका कारण पनि गाउँ–गाउँका किसानमाझ पुग्न नसकेको उनको भनाइ छ । ‘यो केमिकल दर्ता भएको छैन,’ उनी भन्छन्, ‘दर्ता नभएपछि धेरै मात्रामा व्यवसायी, किसानले ल्याउन तथा बिक्री वितरण गर्न पाउँदैन । त्यसैले यो सोचेजस्तो व्यापक हुन सकेको छैन । यही दर्ता हुने हो भने यो रसायन व्यापक प्रयोग हुन सक्छ । तर, पनि जंगली जनावरबाट धेरै पीडित किसानले खोजी–खोजी प्रयोग गरिरहेका छन् । प्रयोग गरेका सबै किसानले सकारात्मक प्रतिक्रिया दिएका छन् ।’
सरकारको उदासीनताका कारण पीडित किसानमाझ यो रसायन व्यापक प्रयोग हुन नसकेको उनको भनाइ छ । उनले व्यक्तिगत लगानीमा अनुसन्धान गरेर हालसम्मकै उत्तम उपाय पत्ता लगाए पनि सरकाले वास्ता गरेको छैन । ‘किसानको समस्या सरकारलाई वास्ता छैन,’ उनी दुखेसो गर्छन्, ‘यो जंगली जनावर आतंकले किसान आजित छन् । किसानको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्छ । एउटा तरिकाले नभए अर्को तरिका खोज्नुपर्छ । तर, सम्बन्धित निकायमा भएकाहरूको उदासीनताका कारण किसानले दुःख पाइरहेका छन् ।’
उनले यो रसायन पत्ता लगाउन सन् २०१९ देखि अनुसन्धान सुरु गरेका थिए । सन् २०१९ मा नै उनले ‘ट्राई मेथाइल अमिन’ रसायन पत्ता लगाए र भारतबाट पाँच लिटर ‘ट्राई मेथाइल अमिन’ ल्याएर विभिन्न ठाउँमा अनुसन्धान थाले । त्यसपछि किसानले उक्त रसायनबाट नीलगाईले बाली नखाएको बताए । त्यसपछि थप रसायन भारतबाट मगाएर काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक र सर्लाहीका किसानलाई बाँडियो ।
तराईमा नीलगाई र अरू जिल्लाबाट बाँदर पनि भागेको कुरा किसानबाट आयो । त्यसपछि उनले धेरै बाँदर पाइने ठाउँका किसानलाई यो रसायन बाँडे र सबै किसानबाट सकारात्मक प्रतिक्रिया आयो । अनुसन्धानको सफलतापछि भारतको कीट विज्ञानसम्बन्धी अग्रणी जर्नल ‘इन्डियन जर्नल अफ इन्टोमोलोजी’मा जुन २०२२ मा यो विषयमा आर्टिकल प्रकाशित गरे । त्यसपछि नेपालको मात्रै होइन, भारतका किसानमाझ पनि यो सूचना पुग्यो ।
नेपालमा भने सहज रूपमा उपलब्ध नहुने हुनाले पनि किसानले सहज रूपमा उपयोग गर्न नसकिरहेको उनी बताउँछन् । जबसम्म उक्त रसायन दर्ता भएर बजारमा पाइँदैन, तबसम्म हरेक किसानसामु पुग्न कठिन छ । त्यसकारण सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने उनी बताउँछन् ।
‘म एउटा अनुसन्धानकर्ताको नाताले मैले जहाँसम्म अनुसन्धान गर्नुपर्ने हो, मैले गरिसकेँ । यो विषय छाडेर म अरू अनुसन्धानमा लागिसकेँ,’ उनी भन्छन्, ‘अब बाँकी काम सम्बन्धित निकायको हो । जो योसँग सम्बन्धित छन् ।’
तर, यो रसायनको बारेमा किसानको अभिभावक ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय’लाई नै जानकारी छैन । केन्द्रदेखि प्रदेशसम्म कृषि मन्त्रालय अनि स्थानीय तहमा कृषि शाखा छन् । तर, एकजना अनुसन्धानकर्ताले पत्ता लगाएको बाँदर र नीलगाई भगाउने उपायको विषयमा सम्बन्धित निकाय नै जानकारीविहीन छ । ‘बाँदर र नीलगाई भगाउन त्यो रसायन उपयुक्त छ भनेर नेपालमै पत्ता लागेको विषय हामीलाई जानकारी छैन,’ कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी भन्छिन् ।
मन्त्रालयलाई रसायनका बारेमा जानकारी नभए पनि बाँदरलगायत जंगली जनावरबाट बालीमा पुग्ने क्षतिको विषयमा मन्त्रालय गम्भीर रहेको उनले बताइन् । उनका अनुसार मन्त्रालयले जंगली जनावरबाट बालीनाली जोगाउन किसानलाई क्षति नगर्ने बाली लगाउन आग्रह गर्दै आएको छ । यसका साथै खेतीपानीमा जंगली जनावरबाट हुने नोक्सानीलाई बिमा रक्षावरण (कभर) गर्ने पनि प्रवक्ता शिवाकोटीले बताइन् ।
जंगली जनावरले विभिन्न खेती खाएर, कुल्चिएर, माडेर, खोस्रेर नोक्सानी गर्यो भने बिमामार्फत क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । यद्यपि, सम्बन्धित खेतीको बिमा भने गरेको हुनुपर्नेछ । अहिले मन्त्रालयले यसैमा जोड दिइरहेको उनको भनाइ छ ।
दीर्घकालीन उपाय के ?
नार्कका अनुसन्धानकर्ता वैज्ञानिक डा. कुशवाहाले पत्ता लगाएका नयाँ उपाय दीर्घकालीन उपाय होइन । सरकारले विशेष गरेर बाँदर नियन्त्रण गर्न दीर्घकालीन उपाय खोज्न आवश्यक छ । तत्काल समाधान गर्नेतर्फ सरकार लागि नपरे केही वर्षपछि स्थिति भयावह हुने उनको भनाइ छ ।
‘किसानले वर्षभरि गरेको लगानी, मिहिनेत र पसिना बाँदरलगायत जंगली जनावरले एकै दिनमा एकै छिनमा माटोमा मिलाइदिन्छन्,’ उनी भन्छन्, ‘बाँदर, चितुवा, दुम्सी, बँदेल, नीलगाई आतंकका कारण गाउँबाट मानिस पलायन हुने स्थिति छ । यसले बेरोजगारी अझ बढ्नेछ, नेपालमा खाद्य असुरक्षा अझ बढ्नेछ भने गाउँबाट सहर आउने प्रांगरिक उत्पादन घट्नेछ । गाउँ रित्तिने र सहर थप भरिने हुँदा जनताको रोजीरोटी व्यवस्थापन गर्न सरकारलाई थप चुनौती हुनेछ । साथै, मानवमा पशुबाट सर्ने रोगको प्रकोपसमेत बढ्न सक्छ ।’
उनका अनुसार बाँदर र नीलगाईबाट बाली जोगाउन हामीले लगाउँदै आएको बाली परिवर्तन गर्न सकिन्छ । ‘जहाँ धेरै बाँदरले बाली नष्ट गर्छ, त्यहाँ खेती नै परिवर्तन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘धान, मकै, कोदो, गहुँको ठाउँमा हामीले औषधीय गुण भएका बिरुवा लगाउन सकिन्छ । वा बाँदर नीलगाईले नखाने बाली लगाउन सक्छौँ । तर, यसले खाद्यान्न अभाव हुन सक्छ । त्यसैले दीर्घकालीन उपायतर्फ सरकार गम्भीर हुनुपर्छ ।’
यस्तै, बाली परिवर्तन नगर्ने हो भने बाँदर व्यवस्थापनको उचित उपाय भनेको ठूला प्राकृतिक केज बनाइराख्ने वा बन्ध्याकरण नै हो । जुन अत्यन्त प्रभावकारी हुन सक्छ । कृषकको बाली नोक्सान गर्ने भएपछि भारतका विभिन्न प्रान्त जस्तै; उत्तर प्रदेश, हिमाचल प्रदेशलगायत स्थानमा सरकारी तहबाटै नीतिगत रूपमा बाँदरको बन्ध्याकरण गरेको पाइन्छ । जुन प्रभावकारी पनि भएको छ ।
बन्ध्याकरण गरेका बाँदरमा पहिचान चिह्नसमेत हुने हुँदा यिनीहरूको निगरानी गर्न सहज हुने उनी बताउँछन् । अन्य घरपालुवा पशु र सामुदायिक कुकुरमा समेत बन्ध्याकरण गर्ने प्रचलन छ भने बाँदरमा पनि यो काम गर्न सकिन्छ । यसका अतिरिक्त बाँदरको स्थानान्तरण गर्ने, जंगल र बस्ती क्षेत्रको बीच भागलाई लक्षित गरी हेरालु राख्ने, बाँदरलाई मन नपर्ने वनस्पति जंगल र बस्तीबीच लगाउने, बाँदर निर्यात गर्ने विषय पनि व्यापक छलफल र सहमतिमा ल्याउन सके बाँदर नियन्त्रण हुन सक्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0