चीनमा जारी एसियन गेम्समा क्रिकेट प्रतिस्पर्धाअन्तर्गत दोस्रो खेलमा माल्दिभ्ससविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल र माल्दिभ्सबीचको खेल ६ः४५ देखि हांग्जाउमा सुरु हुँदैछ ।
नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएर विकेटकिपर विनोद भण्डारीलाई मौका दिएको हो ।
नेपाल लगातार दोस्रो जित निकाल्दै सहजै क्वाटरफाइनलको यात्रा गर्न चाहन्छ । समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७४ रनको कीर्तिमानी जित निकालेको थियो ।
सो खेलमा नेपालले आधा दर्जनभन्दा बढी विश्वकीर्तिमान बनायो । विशेषगरी मंगोलियाविरुद्ध कुशल मल्लले ३४ बलमै बनाएको शतक र दीपेन्द्र सिंह ऐरीले ९ बलमै बनाएको विश्वकीर्तिमानी अर्धशतक बनाए ।
समूह ‘ए’ मा रहेको नेपाल माल्दिभ्सविरुद्ध पनि कीर्तिमानी जित हात पार्ने दाउमा छ । मंगोलियाभन्दा माल्दिभ्स तुलनात्मकरूपमा केही बलियो टोली हो । तर, नेपालसँग भने उसको विगत सुखद छैन ।
हालसम्म माल्दिभ्सले नेपालविरुद्ध जित निकाल्न सकेको छैन । यसपटक भने ऊ नेपालविरुद्ध अप्रत्यासित जित हात पार्दै इतिहास रच्ने रणनीतिमा छ । उसले समूह चरणको पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो ।
हालसम्म नेपाल र माल्दिभ्सले दुईपटक टी–२० खेल खेलेका छन् । जसमा दुवै खेलमा नेपाल विजयी भएको छ । नेपाल र माल्दिभ्सले सन् २०१९ को एसियाली खेलकुदमा पहिलोपटक प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाल पहिलोमा ८४ रन तथा दोस्रो खेलमा ५ विकेटले विजयी भयो ।
माल्दिभ्सविरुद्धको जितपछि नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एक टिमसँग खेल्ने मौका पाउनेछ । क्वार्टरफाइनल खेल मंगलबारदेखि सुरु हुनेछन् ।
यस्तै, सेमिफाइनल ६ अक्टोबर तथा फाइनल खेल ७ अक्टोबरमा हुनेछ । हालसम्म नेपालले सेमिफाइनलसमेत पुग्न सकेको छैन । तर, यसपटक भने उच्च लयमा रहेको नेपालले पदक जित्ने लक्ष्य लिएको छ ।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहरा ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0