माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित, पुग्यो क्वाटरफाइनलमा

नेपाली क्रिकेट टोली चीनमा जारी एसियन गेम्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा माल्दिभ्सविरुद्ध १ सय ३८ रनको जित निकाल्दै नेपाल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेपालले अब क्वाटरफाइनलमा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामध्ये एक टिमसँग खेल्नेछ । क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकालेकाे थियो ।

यस्तै, माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई हराए पनि नेपालविरुद्ध भने उसको प्रदर्शन कमजोर रह्यो । नेपालले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।   



उसका लागि मुअविथ गनीले ३६, रसिद रासमले अविजित १२ र फरीद शिउसले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । माल्दिभ्सका ६ ब्याटर शून्यमै आउट भए । 

माल्दिभ्सलाई सस्तैमा अलआउट गर्नेक्रममा तीव्र गतिका बलर अविनाश बोहराले घातक बलिङ गरे ।



उनले ३.४ ओभरमा ११ रन दिएर ६ विकेट लिए । टी–२० करियरमा अविनाशको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । यस्तै, सन्दीप लामिछाने, सोमपाल कामी, गुलसन झा र कुशल भुर्तेलले एक/एक विकेट हात पारे । 

त्यसअघि झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । २७ बलको सामना गरेका रोहितले ३ छक्का र ३ चौकासहित ५२ रनको इनिङ खेले । जारी प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो ।  

रोहितले पहिलो खेलमा मंगोलियाविरुद्ध २७ बलमा ६१ रन बनाएका थिए । यस्तै, माल्दिभ्सविरुद्ध कुशलले २० बलमा तीन चौका र दुई छक्काको मद्दतमा अविजित ४७ रन बनाए । उनले अघिल्लो खेलमा १ सय ३७ रनको अविजित पारी खेलेका थिए ।  

यस्तै, कुशल भुर्तेल, गुल्सन झाले ३५/३५, विनोद भण्डारीले १३, दीपेन्द्र सिंह ऐरी, आसिफ शेखले ६/६ र सन्दीप जोराले ५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए ।    

  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १०:१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया