आममाफी प्रकरण : भोलिदेखि रिले अनशन बस्ने चेतनपत्नीको घोषणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी सर्वत्र आलोचनाको विषय बनेको छ । उक्त घटनामा मृतक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलिदेखि काठमाडौंको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छन् । 

आज पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आमपीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताइन् । उनले ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने अवस्था आएको भन्दै चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने बताइन् । 

आठ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् । उनले भनिन्, ‘घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधि अझै पनि चलिरहेको छ,’ उनले भनिन्, ‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी बिर्सन सक्छु ?’

चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको पनि राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा दोहोर्याइदिएको उनको आरोप छ । उनले भनिन्, ‘जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले म पहिला पीडामा थिएँ, फेरि दोहोर्याइदिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ ।’




आफूले लामो कानुनी लडाइँबाट रिगललाई कारगार पुर्याएको बताउँदै उनले पीडित परिवारको सहमतिविना राष्ट्रपतिलाई आममाफी दिने अधिकार हुन नहुने बताइन् । उनले भनिन्, ‘आममाफी भनेको के हो ? तपाईंलाई त्यो अधिकार कसले दियो ? राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो ? जसरी त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पुर्याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफ मलाई चाहियो ।’

हत्यारालाई आममाफी हुने हो भने राज्यले आफूलाई पनि हतियार दिनुपर्ने उनको माग छ । आममाफी मिल्ने हो भने आफू पनि मार्नका लागि तयार रहेको उनको भनाइ छ । ​आममाफीका विषयमा यो घटना तपाईंकी छोरीचेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन् । 



उनले भनिन्, ‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति)को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ? मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त ? यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई ? जस्तो आज मलाई यो दिन देखाउनुभयो । न्यायका लागि गुहार गर्नुहुन्थ्यो होला त ?’ 

नवौँ संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए । 

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले ०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । 

रिगलमाथि ०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।
 

  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार १६:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया