सुनको कण खोज्न परिवारसहित त्रिशूलीतिर लागे बोटे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दसैँ मनाउँदा लागेको ऋण तिर्न तनहुँको व्यास-१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।

‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । ३०/४० हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’

५५ वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँचजना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ । 

यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मर्स्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए ।



सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ ।  

घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुगेका कमल बोटेले बताए । बालुवा चाल्नेक्रममा महिनाको करिब २० हजार रुपैयाँ बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिए ।



घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए । करिब ४५/५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ ।

‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु’, उनले भने, ‘माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै २५/३० हजार रुपैयाँ हातमा पर्ला कि भन्ने विश्वासमा छु । मिहिनेतको कुरा हो यसै भन्न सकिँदैन ।’ 

पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ ।

सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाए । यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् । रासस 

  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार ७:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया