धनगढी-खुटिया-विपीनगर-दीपायल द्रुतमार्ग कालोपत्र गर्ने काम अघि बढेको छ । सडक कालोपत्रका लागि धनगढी-स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।
उक्त सडक कालोपत्र गर्न पानी पिचको काम भइरहेको जनाउँदै गत आर्थिक वर्षमा बजेट अभावका कारण काम अलपत्र परेको कार्यालयका प्रमुख लक्ष्मण रावलले बताए । उनका अनुसार उक्त द्रुतमार्गअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र गर्नका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो ।
धनगढी–स्याउले सडक खण्डको १३ दशमलव चार र दीपायल–बाजमोर्ड खण्डको नौ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको रावलले बताए । कैलालीमा थप साँढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा सडक कालोपत्रको काम भइरहेको उनले जानकारी दिए ।
विसं २०७८ मा ठेक्का सम्झौता गरिए पनि बजेट अभावका कारण सडक निर्माण अलपत्र परेको जनाउँदै रावलले चालू आवमा संघीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ट्र्याक खोल्न थालिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0