कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । यसअघि प्रदेश सभाको बैठक गत कात्तिक १ गते स्थगन गरिएको थियो । कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज बैठक बस्न लागेको हो ।
बैठकको कार्यसूची बैठक बस्नुअघि तय हुने प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । यसअघि कोशी प्रदेश सभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।
प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सरकारले प्रस्तुत गर्ने तयारी गरिरहेको छ । यसैबीच, प्रदेश सभाको सभामुख कसलाई दिने भन्नेबारे दलहरूबीच अनौपचारिक छलफल गरिएको छ ।
गठबन्धनमा आबद्ध दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिएर गठबन्धनमा सहभागी गराउने प्रयास गरिरहेको छ । मुख्यमन्त्री बन्न केदार कार्कीलाई समर्थन गरेको दल नेकपा एमालेले भने सरकार छाडिसकेको छ। यसले गर्दा मुख्यमन्त्रीलाई सबैको सहमति बनाउन असहज बनेको छ ।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दा गठबन्धनका दलहरू माओवादी र नेकपा एकीकृतलाई सहभागी गराएपछि एमाले असन्तुष्ट बनेको हो ।
आफूसँग सल्लाह नगरी ती दललाई सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको एमालेले सरकारमा सहभागी आफ्ना मन्त्री राम रानालाई फिर्ता बोलाइसकेको छ । रानाले राजीनामा दिएसँगै सरकारबाट एमाले बाहिरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0