कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया अघि बढाउन सांसदहरूले माग गरेका छन् । गत साउन महिनादेखि कोशी प्रदेशसभा सभामुखविहीन छ ।
आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले प्रदेशसभालाई लामो समयसम्म सभामुखविहीन अवस्थामा राख्न नहुने भन्दै चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
शून्य समयमा बोल्दै सांसद मैया श्रेष्ठले साउनदेखि सभामुखविहीन रहेको भन्दै सभामुख चयन प्रक्रिया चाँडै अघि बढाउन आग्रह गरिन् ।
प्रदेशसभा नेतत्वविहीन अवस्थामा लामो समय राख्नु नहुने भन्दै यसका लागि सम्बन्धित सबैले गम्भीर हुनुपर्नेमा जोड दिइन् ।
यसैगरी, राप्रपा सांसद गोपाल विकले सभामुखको व्यवस्था गर्न ढिलाइ गर्नु नहुने बताए ।
नेपाली कांगे्रसकी सांसद शोभा चेम्जोङले प्रदेशसभा सभामुखविहीन भएकाले यथाशीघ्र सभामुखको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताइन् ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रक्रियामा सहभागी हुनका लागि तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए ।
माओवादीबाट सांसद बनेका गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त छ । संसद सञ्चालनका बेला उपसभामुखले अध्यक्षता गर्ने गरेकी छन् ।
यसैबीच, प्रदेशसभा बैठकले कर्णाली प्रदेशमा भूकम्पमा परी मृत्यु भएकाहरूको शोकमा शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहतको काममा तदारुकता अपनाउन पनि आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0