कोशी प्रदेश मन्त्रिपरिषद छठ पर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ । सरकारमा सत्ता गठबन्धनका दलहरूको सहभागिता गराउन सम्बन्धमा भएको मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच भएको छलफलमा छठपछि सरकार विस्तार गर्ने सहमति भएको हो ।
मन्त्रिपरिषद विस्तार गर्ने क्रममा काँग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एस र जसपाले एक–एकजना मन्त्री पाउने सम्भावना भए पनि यसबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।
मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयकलगायत विषयमा शुक्रबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए ।
यसैगरी उनले नेपाली कांग्रेस दलका नेता उद्धब थापा, माओवादीका आङ्बो, नेकपा एसका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बेग्लै छलफल गरेका थिए ।
प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्ति पनि सहमतिकै आधारमा गरिने भएको छ । माओवादी संसदीय दलका नेता आङबोले छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए ।
हाल सरकारमा मुख्यमन्त्री कार्कीबाहेक माओवादीका गणेश उप्रेती, कांग्रेसका शम्शेर राई र नेकपा एसका कमलप्रसाद जबेगु विनाविभागीय मन्त्रीका रुपमा छन् । सरकारमा सहभागी एमालेका मन्त्री राम रानाले भने राजीनामा दिइसकेका छन् ।
आफूसँग सहमति नगरी माओवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराएको भन्दै असन्तुष्ट बनेको एमालेले मन्त्री रानालाई सरकारबाट फिर्ता बोलाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0