‘धनीलाई लाग्ने रोग अब सबैलाई लाग्न सक्छ’

रोग सबैलाई लाग्न सक्छ । रोगले कुनैपनि हैसियत हेरेर लाग्ने कि नलाग्ने भनेर छुट्याउँदैन । धनी होस् कि गरिब, उच्च ओहोदाको होस् कि निम्न पदमा आसिन, रोग सबैलाई लाग्न सक्छ । हिजो आज जुनसुकै अस्पतालमा उपचारका लागि पुगेका मानिसलाई सर्सर्ती हेरियो भने थाहा हुन्छ, उनीहरु सबैको हैसियत समान हुँदैन । 

कुरा यत्ति मात्र हो कि उपचार गर्न भने आर्थिक हैसियतअनुसारको अस्पताल छानेर मानिसहरु जाने गर्छन् । तर रोगले अस्पतालको हैसियत हेरेर बिरामीलाई सहानुभूति भने प्रकट गर्दैन । यो कुरा चिकित्साविज्ञानका धुरन्धर विज्ञहरुले नै भन्ने गरेका छन् ।

कुनैबेला केही धनीलाई मात्र लाग्छ भनिन्थ्यो । त्यसो भन्नाको कारण थाहा पाउन नसकेर सर्वसाधारण मानिसले सहजै पत्याउने गरेका थिए । तर, शिक्षाको स्तर बढ्दै गएपछि सबैलाई अवगत हुन थाल्यो कि रोगले विभेद गर्दै गर्दैन ।

कुनैबेला सहर निवासी र धनी व्यक्तिमा मात्र देखिने हृदयाघात, डायबिटीज, स्ट्रोक, हाडजोर्नी र क्यान्सरजस्ता रोग गरिब मानिसमा देखिँदैन थियो जो ज्यादातर गाउँमा नै बसोबास गर्थे ।



गाउँमा भन्दा धनी व्यक्ति सहरमा बढी बसोबास गर्ने भएकाले उनीहरुलाई नै बढी यस्ता रोगले समाउँथे । अग्ला–अग्ला भवन, आधुनिक सुविधाको रहन–सहन र स्वादिला व्यञ्जन उनीहरुको नियमित भोजन हुने गर्छ । यही जीवनशैली बानी पर्दै जाँदा उनीहरु नै यस्ता रोगबाट संक्रमित हुने गर्छन् ।

तर, यो रोगले सन् १९९० र २००० पछिका दशकमा बिरामीको बीच भेद गर्न छाड्यो र यसले सबैलाई गाँज्न थाल्यो। २००० सम्म आइपुग्दा त केही रोगले धनाढ्यलाई मात्र संक्रमण गर्छ भनिने गरेकामा अब गरिब र झुपडीमा बस्ने मानिसलाई पनि बाँकी राख्न छाड्यो ।



यस्ता छन् मुख्य रोग

हृदयाघात

संसारभर हरेक वर्ष हृदयाघातबाट सबैभन्दा बढी मानिसको मृत्यु हुने गर्छ । २०१४मा एक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा सन् १९९० पछि गाउँमा पनि कार्डियोभेस्कुलर डिजिजको समस्या दुई गुणा बढेको देखाइएको थियो । यति मात्र होइन, ससाना बालबच्चालाई समेत हृदयाघात भइरहेको छ । उनीहरुलाई कोलेस्ट्रोल र उच्च रक्तचापको समस्या निकै बढेर गएको उक्त अनुसन्धानमा देखाइएको छ ।

डायबिटिज

हिजोआज ३० वर्षकै उमेरमा मानिसहरुलाई मधुमेहको समस्याले सताउन थालेको छ । तर, केही वर्षअघिसम्म यस्तो समस्या देखापरेको थिएन । यो एक मेटाबोलिक रोग हो । जसमा रगतमा ग्लुकोज बढेर जान्छ । यसको असरले मिर्गौला र आँखालाई कमजोर बनाउँदै उपचार नपाए धेरै क्षति पनि गर्छ ।

कोमा

हामी सबैले सुन्ने गरेका छौँ कि धेरैजसो धनाढ्य व्यक्तिहरु कुनै रोगका कारण कोमामा जान्छन् । यसको मुख्य कारण हो, स्ट्रोक । जसले मष्तिस्कको नसा बन्द भएपछि रक्त प्रवाहमा अवरोध आउँछ र शरीर हल न चल हुन पुग्छ ।

गठिया

गठिया रोग पनि धनीमानीलाई नै लाग्ने रोग मानिन्छ। जोर्नीहरु दुखेर उठबस समेत गर्न नसक्ने अवस्था आएपछि मानिस हिँडडुल नै गर्न असमर्थ हुन्छ । खासगरी यो समस्याले बूढेसकालमा बढी सताउँछ ।

क्यान्सर

यो रोगलाई पनि पहिलापहिला धनीलाई मात्र लाग्ने रोग भनेर चर्चा गरिन्थ्यो । यो रोगको उपचार असाध्य महँगो र दुर्लभ जस्तै भएकाले पनि उपचार खर्च निकै नै बढी हुने गथ्र्यो । अहिले नै पनि यसको उपचार गर्दागर्दा मानिसहरु आर्थिक रुपले चौपट भएका समाचार प्रकाशमा आइरहन्छन् । तर, अहिले आएर जथाभावी खानपान गर्नाले क्यान्सरले धनी गरिब भनेर छुट्याउन छाडेको छ ।

यी थिए ठूला कारण

विशेष गरेर धनाढ्य मानिस कम हिँडडुल गर्ने र सकेसम्म शरीरलाई कष्ट नदिने बानीमा रमेकाले उनीहरुको जीवनशैली विलासी बनेको हुने गर्छ । व्यस्त दैनिकी र कम स्वस्थकर खानपिनमा बानी परेका उनीहरु बढी स्वास्थ्य समस्यामा पर्ने गरेका हुन् भन्ने स्वास्थ्य विशेषज्ञहरुले बताएका छन् । शारीरिक व्यायामविनाको तनावपूर्ण जीवनशैली नै उनीहरुलाई स्वास्थ्य समस्या आइपर्ने मुख्य कारण मानिएको छ ।

बढी चिल्लो भएको खाद्यपदार्थ, अति गुलियो खानेकुरा, धेरै नुन हालेको चर्को खानेकुरा, मदिरा, सुर्तीजन्य पदार्थ र प्याकिङ खानेकुरा रोग निम्त्याउन कारक बन्ने विज्ञहरुले बताएका छन्। 

यो त सामान्य जानकारी मात्र हो । यस्ता समस्या देखापरेमा चिकित्सकसँग परामर्श नगरी आफूखुसी औषधि सेवन गर्नुहुँदैन।

  • प्रकाशित मिति : कात्तिक ३०, २०८० बिहीबार १७:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया