आज छठ पर्व अन्तर्गतको मुख्य दिन (सझिया अर्घ) हो । यो पर्वको अवसरमा बिहानैदेखि जनकपुरका नदी, तलाउ र पोखरीहरूमा श्रद्धालुहरूको भिड छ ।
आज बिहानदेखि व्रत बसेका व्रतालुले साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने चलन छ। मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा छ। विशेष गरी अहिले जनकपुरको गंगा सागर झकिझकाउ पारिएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य र ब्रह्माका मानसपुत्री छठी (षष्ठी)को उपासना र पूजा गरी मनाइन्छ।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसाद स्वरुप खाने र नुन नखाई एक छाक फलाहार गर्दछन् । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठी अर्थात् आज निराहार व्रत बसी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि छ ।
आज रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ। कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने विश्वास पनि छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0