सरकारले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कोरोना खोप नदिने भएको छ । हालसम्म १५ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोना खोपको परीक्षण नभएकाले सो उमेरसमूहका बालबालिकालाई खोप नदिने योजना बनाइएको हो ।
बालबालिकाहरु कोरोना संक्रमणको कम जोखिममा रहेकाले उनीहरुलाई खोप दिने योजना नरहेको खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए ।
हाल नेपालको कुल जनसंख्याको २८ प्रतिशत अर्थात् ८४ लाख १५ वर्षमुनिका बालबालिका रहेका छन् ।
बालबालिका बाहेकका बाँकी ७२ प्रतिशत जनसंख्यालाई नि:शुल्क खोप दिने तयारी सरकारले गरेको छ । ७२ प्रतिशतमध्ये २० प्रतिशत जनसंख्यालाई कोभ्याक्ले निःशुल्क खोप दिने भएपछि बाँकी ५२ प्रतिशत जनसंख्यालाई भने सरकारले खोप खरिद गरेर उपलब्ध गराउने उप्रेतीले बताए ।
सहज र समान खोप पहुँचका लागि गठित कोभ्याक्स सुविधाले नेपाललाई निःशुल्क खोप दिने भएको हो । पहिला कोभ्याक्समार्फत आउने खोपलाई प्रतिमात्रा २ डलर तिर्नुपर्ने कुरा भएको थियो तर अहिले उसले निःशुल्क खोप दिने जानकारी गराएको उनले बताए ।
उप्रेतीले भने, ‘कोभ्याक्सले निःशुल्क खोप दिँदा खोप सञ्चालनका लागि २ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ, यसअघि कोभ्याक्सले दिने खोपका लागि ६ अर्ब रुपैयाँ खर्चको प्रस्ताव गरेको थियो ।’
एकैपटक पूरै जनसंख्यालाई पुग्ने खोप नेपालमा भित्र्याउन नसकिने भएकाले पहिलो चरणमा कोभ्याक्स मार्फत २० प्रतिशत जनसंख्यालाई आउने खोप जोखिम क्षेत्रमा खटिने व्यक्तिहरुले पाउनेछन् । खोपको पहिलो प्राथमकितामा स्वास्थ्यकर्मी र उनीहरुसँगै खटिने सफाइ कर्मचारीहरु रहेका छन् । त्यसपछि दैनिक अत्यावश्यक सेवाका कार्यालयमा खटिने जसले सामाजिक दूरी कायम राख्न सक्दैनन् उनीहरुले खोप पाउनेछन् ।
यसैगरी ५५ वर्षभन्दा माथि उमेरका व्यक्ति र ४० देखि ५५ वर्ष उमेरका दीर्घरोगीलाई पहिलो चरणमा खोप दिइनेछ ।
उप्रेतीका अनुसार खोप खरिदका लागि सरकारको ४२ अर्ब रुपैयाँ खर्च हुने आँकलन गरिएको छ । प्रतिमात्रा १० डलर खर्चको अनुमान गरिएको छ । अहिले पनि नेपालको भण्डारण क्षमतासँग मिल्ने धेरै खोपहरू अन्तिम चरणको परीक्षणमा छन् यद्यपि नतिजा आइसकेको छैन, उप्रेतीले भने, ‘सुरक्षित र धेरै प्रभावकारी हुने खोप ल्याउनुपर्छ त्यसैले विश्व स्वास्थ्य संगठन र उत्पादित देशको नियमन संस्थाले स्वीकृति प्रदान गरेपछि मात्रै नेपालको लागि कुन खोप उपयुक्त हुन्छ ती खोपहरूको सूची बनाउने प्रक्रिया सुरु हुन्छ ।’
नेपालमा हाल माइनस २० तथा २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने भण्डारण क्षमता रहेको छ । खोप ल्याउन, भण्डारण गर्न, खोप लगाउने व्यक्तिको पहिचान लगायतको काम गर्न स्वास्थ्य मन्त्रालयले ८ वटा समिति गठन गरिसकेको बताउँदै उप्रेतीले खोप आइसकेपछि खोप कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0