अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।
कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोनाभाइरसको महामारी बढ्दै गइरहेको देखिएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा ३ हजार १२४ जनाको मृत्यु भएको छ ।
पछिल्लो पाँच दिनमा मात्रै थप झण्डै पाँच लाख जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकामा अहिले पनि १ लाख ६ हजारभन्दा बढी सङ्क्रमितहरु अस्पतालमा उपचारकै क्रममा रहेका छन् ।
महामारी देशभरि नै बढ्दै गइरहेकाले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई दबाब पनि बढेको अधिकारीहरूले बताएका छन् ।
अमेरिकामा कोरोनाका कारण अहिलेसम्म २ लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ भने कुल १ करोड ५५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
एकैदिनमा मृत्यु भएकाहरूको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।
यसअघि गत अप्रिल १५ मा सबैभन्दा धेरै एकैदिनमा २ हजार ६०२ जनाको मृत्यु भएको थियो । न्युयोर्क सहरमा कोरोना महामारीको केन्द्र बनेका बेला त्यति धेरै मानिसको एकैदिनमा मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0