सुदूरपश्चिममा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली र डोटीका एक महिला र एक पुरुष संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । सेती प्रादेशिक अस्पताल अन्तर्गत कोरोना अस्पतालको भेन्टिलेटरमा उपचाररत ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिका १ की ती महिलाको आइतबार बिहान पौने ९ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती महिलाको मंसिर २१ गतेदेखि उपचार भइरहेको थियो । उनी कडा किसिमको स्वास प्रश्वास र निमोनियाबाट ग्रसित थिइन् ।
यस्तै डोटीका एक जना पुरुषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका ५ का ४९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड १९ फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए । उनका अनुसार ती पुरुषको मंसिर २६ गते कोरोना परीक्षण भएकोमा २७ गते पोजेटिभ आएको थियो । अवस्था गम्भीर भएपछि मेडिकल कलेजको आइसियुमा उपचाररत ती पुरुषको मृत्यु भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोनाबाट ४६ जनाको मृत्यु भएको छ । पछिल्लो समय जाडो बढेसँगै दैनिक रूपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । जाडोको समयमा सर्तकता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0