राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा मंगलबार शीतलनिवासमा सम्पन्न सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी थिए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई भने सो बैठकमा सहभागी भएनन् । भट्टराई अस्वस्थताको कारण देखाउँदै बैठकमा सहभागी भएनन् । खनाल र नेपालले भने बैठकमा सहभागी नहुनुको कारण खुलाएका छैनन् ।
राष्ट्रपतिले राजनीतिक निकासबारे परामर्श गर्न सर्वदलीय बैठक बोलाएको भए पनि मंगलबारको बैठकमा दलहरूबीच कुनै समझदारी हुन सकेन । राष्ट्रपति भण्डारीले दलहरुलाई मिलेर निकास खोज्न आग्रह गरेकी थिइन् ।
प्रधानमन्त्री केपी ओलीले भने ताजा जनादेशमा जानु नै उत्तम निकास हुने तर्क राखेका थिए। प्रधानमन्त्रीको भनाइपछि अन्य दलका नेताले त्यसको प्रतिकार गरेका थिए । उनीहरुले संसदभित्रैबाट समाधान खोज्नुपर्ने धारणा राखेका थिए।
बैठकमा सहभागी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने प्रधानमन्त्रीले संसद विघटनबारे बोलेको कुरामा अनभिज्ञता प्रकट गरेका छन् । फरकधारसँगको कुराकानीमा नेम्वाङले भने, ‘राष्ट्रपतिले बोलाएर गएकाे हाे, राष्ट्रपतिकाे अगाडि कहाँबाट त्यस्ताे कुरा हुन्छ ? औपचारिक ठाउँमा त्यस्तो कुरै हुँदैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0