प्रदेश २ मा पनि कोरोनाको दोस्रो भेरियन्ट तीव्र गतिले फैलिरहे पनि यसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पहल गरेको देखिएको छैन । प्रदेश सरकार अहिलेसम्म अनुगमन र निर्णयमै सीमित छ । यस प्रदेशमा अहिले दैनिक डेढदेखि दुई सयसम्मको हाराहारीमा संक्रमितहरू थपिँदै गइरहेका छन् । तर, प्रदेशका अस्पतालमा भने आइसियु र भेन्टिलेटरको व्यवस्थापन हुन सकेको छैन ।
यस प्रदेशका अधिकांश सरकारी अस्पतालमा भेन्टिलेटर भए पनि तिनलाई सञ्चालन गर्ने जनशक्ति नहुँदा बिरामी उपचारबाट वञ्चित हुनु परेको छ । भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा विभिन्न अस्पतालका भेन्टिलेटर प्रयोगविहीन बन्दै गइरहेका छन् ।
प्रदेश २ मा ४५ भेन्टिलेटर
यस प्रदेशमा सरकारी र निजी अस्पतालसमेत गरी कुल ४५ वटा भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नबल किशोर झाले जानकारी दिए ।
वीरगञ्जको नारायणी उप-क्षेत्रीय अस्पतालमा १०, नेसनल मेडिकल कलेजमा १०, प्रादेशिक अस्पताल जनकपुरधाममा ७, महोत्तरीको जलेश्वर अस्पतालमा ५, सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ४, बाराको कलैयास्थित अस्पतालमा २, रौतहटको गौरस्थित अस्पतालमा ४, सिरहा अस्पतालमा २ र लहानस्थित अस्पतालमा १ थान भेन्टिलेटर छन् ।
प्रदेशमा ४५ थान भेन्टिलेटर रहे पनि भेन्टिलेटर चलाउने दक्ष जनशक्ति अभाव रहेको उनी बताउँछन् । उनले वीरगन्जको नारायणी उप-क्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेजमा मात्रै भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति रहेको जानकारी दिए ।
निजी स्तरमा सञ्चालित पर्साको नेसनल मेडिकल कलेजमा २५ वटा र जनकपुरधामको जानकी मेडिकल कलेजसँग ५ वटा भेन्टिलेटर छन् । सरकारी स्तरमा सञ्चालित अस्पतालमा ४ वटा भेन्टिलेटर सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहे पनि त्यहाँ आइसियु नभएकाले भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा जसोतसो भेन्टिलेटर चलिरहेको छ । अन्य अस्पतालमा भेन्टिलेटर रहे पनि चलाउने जनशक्ति पर्याप्त नरहेको झा जनाउँछन् ।
७१ शय्या आइसियु र १८१ बेडको एचडियु
यस प्रदेशमा ७१ शय्या आइसियुको व्यवस्था रहेको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए । उनले नारायणी उप-क्षेत्रीय अस्पतालमा १५, वीरगन्जको नेसनल मेडिकल कलेजमा २६, प्रादेशिक अस्पताल जनकपुरधाममा १०, रौतहटको गौर अस्पतालमा १०, जलेश्वर अस्पतालमा ५ र सिरहा अस्पतालमा ५ शय्याको आइसियु रहेको बताए ।
प्रदेश २ मा १८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । उनका अनुसार वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा ३१ शय्याको एचडियु छ । त्यस्तै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, प्रादेशिक अस्पताल जनकपुरधाम र राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २५/२५ शय्याको एचडियु छ । अन्य जिल्लास्थित अस्पतालमा १५/१५ शय्याको एचडियुको व्यवस्था गरिएको प्रमुख झाले जानकारी दिए ।
प्रदेशमा २२३ को मृत्यु
प्रदेश २ मा समाचार तयार पार्दासम्म १९ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २२३ जनाले ज्यान गुमाइसकेका छन् । सक्रिय संक्रमितको संख्या भने १ हजार ८६४ रहेको छ ।
गत २०७७ वैशाख महिनादेखि नै संक्रमितको चाप बढ्दै गइरहेको प्रदेश-२ मा हालसम्म पर्सामा ६२, सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, बारामा २५, महोत्तरीमा १८, सर्लाहीमा १५, रौतहटमा १० र एकजना भारतीय नागरिक गरी २२३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा १७८ पुरुष र ४५ महिला रहेका छन् ।
भेन्टिलेटर अभावमा मान्छे मर्दैन : मन्त्री साह
प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहसँग भेन्टिलेटर अभावका कारण संक्रमितको मृत्यु भइरहे पनि सरकारले भेन्टिलेटर खरिदका लागि किन चासो नलिएको कुरा सोध्न खोज्दा उनले भने, ‘यस प्रदेशमा भेन्टिलेटरको अभाव पहिलेदेखि नै छ । तर, सञ्चारकर्मीले भेन्टिलेटर अभाव, भेन्टिलेटर अभाव गरेर मात्र समाचार बनाउने गरेका छन् । उनले उल्टै सञ्चारकर्मीसँग नै प्रश्न गर्दै भने, ‘भेन्टिलेटर नहुँदैमा मान्छे मरिहाल्छ र ? भेन्टिलेटरले कोरोना निको हुँदैन ।’
२ करोड ५५ लाखको भेन्टिलेटर प्रयोगविहीन
भेन्टिलेटर लगायतका अन्य भौतिक पूर्वाधार तथा उपकरण नहुँदा कतिपय बिरामीको मृत्यु भएको डाक्टरले समेत स्वीकार गर्दै आएका छन् । तर, भेन्टिलेटर हुँदाहुँदै पनि प्रदेश सरकारले यस विषयमा आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा अनाहकमै संक्रमितको मृत्यु हुने जोखिम बढेको छ ।
महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान गरे पनि सेवा सञ्चालनका लागि जनशक्तिको अभावले भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयको सहयोगमा जलेश्वर अस्पतालमा पाँचवटा भेन्टिलेटर जडान गरिएको हो ।
प्रदेश २ सरकारसँग एनेस्थेसिया, इन्टरनल मेडिसिन, तालिम प्राप्त नर्सिङ स्टाफलगायतको माग गरिएको जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताए । जलेश्वर अस्पतालमा मात्रै आइसियुसहित पाँचवटा भेन्टिलेटर र अन्य उपकरण जडान गर्न २ करोड ५५ लाख ५२ हजार खर्च भएको थियो ।
गत वर्षमात्रै ३ करोड ४३ लाख खर्च गरेर जलेश्वरमा बनाइएको कोभिड विशेष अस्पताल अहिले कामविहीन बनेको छ । दक्ष जनशक्तिको अभावले भेन्टिलेटर र आइसियु सञ्चालन हुनसक्ने अवस्था छैन । अहिलेसम्म दोस्रो लहरको बेला पनि जलेश्वरमा कोभिड विशेष अस्पताल सञ्चालनमा आउन सकेको छैन । गत वर्ष सो अस्पतालमा विभिन्न शीर्षकमा गरी कोभिड नियन्त्रणका नाममा ८ करोडभन्दा बढी रुपैयाँ खर्च भएको थियो ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा पहिला दुईवटा भेन्टिलेटर थियो भने अहिले एउटा बिग्रेको भेन्टिलेटरलाई बनाएर प्रयोगमा ल्याइएको छ । प्रदेशमा भेन्टिलेटर अभाव रहेको विषयमा आलोचना हुन थालेपछि गत वैशाख ८ गते प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णयसमेत गरेको थियो ।
भेन्टिलेटर खरिद गर्नका लागि प्रदेश सरकारले प्रत्येक जिल्लामा भेन्टिलेटरसहितको आइसियु कक्षको व्यवस्था गर्नका लागि रकमसमेत निकासा गरिसकेको छ । तर, सरकारले भेन्टिलेटर खरिदका लागि निर्णय गरेको एक वर्ष बितिसक्दा समेत अहिलेसम्म कमिसनको कुरा नमिल्दा किन्न सकेको छैन ।
सामाजिक विकास मन्त्रालयले गत असार ११ गते टेन्डर आह्वान गरे पनि प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्ने नाममा करोडौंको भ्रष्टाचार गर्न लागेको केही सञ्चारमाध्यममा समाचार बाहिरिएपछि टेन्डर नै रद्द भएको थियो ।
प्रतिपक्षद्वारा आलोचना
कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको निष्क्रियताप्रति प्रतिपक्षी दलले कडा आलोचना गरेको छ । प्रदेश सरकारले ३ वर्षे कार्यकालमा कार्यकर्ता पाल्नुबाहेक केही गर्न नसकेको प्रतिपक्षीले आरोप लगाएका छन् ।
प्रतिपक्ष दलका नेताहरू भने सरकारको ३ वर्षे कार्यकाल गफगाफ र भ्रष्टाचारमै बितेको आरोप लगाउँछन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले कोरोना रोकथाम तथा नियन्त्रणको नाममा मास्कदेखि पिसिआर मेसिनलगायत सामग्री खरिद र क्वारेन्टाइन तथा आइसोलेसनका नाममा करोडौँ रकम खर्चिएको सरकारले बताउँदै आए पनि सत्तारुढ दलका नेता-कार्यकर्ताबाहेक आमनागरिकले कुनै लाभ लिन नसकेको आरोप लगाए ।
‘कोरोना नियन्त्रणका लागि सामग्री खरिदमा करोडौँको भ्रष्टाचार भयो,’ उनले भने, ‘मिडिया र प्रतिपक्ष चिच्याइरहे पनि भ्रष्टाचारीलाई कारबाही त परै जाओस् सरकारले छानबिनसमेत गर्न सकेन ।’
त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले कोभिड-१९ पुनः फैलिँदै गएको अवस्थामा प्रदेश सरकारले कागजी निर्णयबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् ।
उनले भने, ‘प्रदेशभित्र कोरोनाले भयावह रूप लिँदै गएको छ । तर, प्रदेश सरकारले आइसोलेसन, क्वारेन्टिन र कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो । यद्यपि हालसम्म निर्माण गर्न सकेको छैन ।’
सीमानाकामा निर्वाध आवतजावत
प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएका र सीमा क्षेत्रमा कडाइ नगरिएका कारण प्रदेशमा संक्रमण दर उल्लेख्य बढेको छ । यस प्रदेशका सीमानाकामा नेपालबाट भारत र भारतबाट नेपाल आउने यात्रुहरू अहिले पनि निर्वाध रूपमा यात्रा गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी निकायको प्रयास प्रभावकारी बन्न सकेको छैन ।
परीक्षण बिना नै धनुषाको जटहीसहित प्रदेश २ का अधिकांश नाकाबाट नेपाल प्रवेश गर्नेको लर्को देखिन्छ । नाकाहरूमा हेल्थ डेस्क छलेरै भारत आवतजावत गर्नेहरूको भिड नै देखिएको छ । सरकारी निकायले नाकामा संक्रमणको बेला वारिपारि हिँड्नेको तथ्यांकसमेत राखेका छैनन् ।
यता, सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी चन्द्रप्रकाश गौतम भने संक्रमण बढेसँगै प्रदेशका ८ वटै जिल्लाका मुल नाकामा कडाइ गरिएको दाबी गरिरहेका छन् ।
उनले भने, ‘हाम्रो काम नाकालाई व्यवस्थित गर्ने हो । तर, स्वास्थ्यकर्मीहरू भने नाकामा बस्नै मान्दैनन् । प्रहरीले त जाँच्ने होइन । सबै निकायले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’
प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारण जुनसुकै बेला ओहोरदोहोर भएको र वैदेशिक रोजगारीमा जानेको संख्यासमेत सबैभन्दा बढी रहेकाले यो प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0