प्रदेश कोरोना क्राइसेस म्यानेजमेन्ट कमिटी (पीसीसीएमसी) ले भारतबाट आउनेहरूलाई राख्नका लागि सीमासँग जोडिएका जिल्लामा होल्डिङ एरिया तत्काल बनाउने निर्णय गरेको भए तापनि अझै प्रदेशमा होल्डिङ एरिया सञ्चालनमा आउन सकेका छैनन् ।
पीसीसीएमसीले निर्णय गरेको चार दिन बितिसक्दा पनि मोरङमा भने अझै होल्डिङ एरिया कहाँ बनाउने भनेर स्थानसमेत तय भएको छैन ।
झापा र इलाममा होल्डिङ सेन्टर बन्दै गरेको भए पनि सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ । सुनसरीमा पुरानै होल्डिङ एरियामा सञ्चालन गर्ने तयारी भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । होल्डिङ एरिया सञ्चालन नहुँदा भारतबाट नेपाल प्रवेश गरेकाहरूलाई कहाँ राख्ने उनीहरूको स्वास्थ्य समस्या भए कसरी समन्वय गर्ने भन्नेमा समस्या भएको छ ।
सीमामा रहेका हेल्थ डेक्समा भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षण गरिन थालेको छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ आए पिसिआर परीक्षण गर्ने गरिएको छ ।
पिसिआर परीक्षणको रिर्पोट नआउन्जेलसम्म पनि मानिसलाई कहाँ र कसरी राख्ने भन्ने समस्या भएको सीमा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थकर्मीले बताए । रानीस्थित हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीका अनुसार भारतबाट नेपाल आउनेहरूलाई राख्ने स्थान नहुँदा त्यत्तिकै घर पठाउनु परिरहेको छ । यसले समुदायमा कोरोना संक्रमण फैलने खतरा बढिरहेको छ ।
भारतसँग सिमाना जोडिएका र आधिकारिक रूपमा खुल्ला गरिएका सीमानाका आसपासमा होल्डिङ एरिया बनाउने र त्यसको सबै लागत प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको छ । यसअघि विद्यालयमा होल्डिङ एरिया बनाइएको थियो ।
यस पटक विद्यालयमा नबनाउनु भन्ने भएकाले होल्डिङ एरिया कहाँ बनाउने भनेर निर्णय भइनसकेको प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले बताए । उनले भने, “हामी आवश्यक समन्वय गरेर चाँडै होल्डिङ एरिया निर्माण गर्ने तयारीमा लागेका छाैँ । केही दिनमै निर्माण गरेर सञ्चालन गर्ने छाैँ ।”
निरौलाका अनुसार प्रदेशबाट बजेट आउने भनिए तापनि अहिलेसम्म बजेट आइसकेको छैन । लागत व्यहोर्ने भनिए पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बजेट भने अझै पुगिनसकेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी गराए । उनका अनुसार झापामा रहेका २ वटा आधिकारिक सीमा नाकाबाट दैनिक ६ सयको हाराहारीमा नेपाल प्रवेश गरिरहेका छन् ।
उनीहरूलाई राख्नका लागि होल्डिङ एरिया बनिरहेको र आइतबार सम्ममा सञ्चालनमा आउने तिमिल्सिना बताए । उनले भने,“प्रदेश सरकारले बजेट पठाइनसक्दा टेन्ट पालको राख्ने काम भइरहेको छ । हामीले बजेट माग गरेर पठाएका छौँ । आइतबार सम्ममा बजेट आउँछ ।”
नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीसँगको समन्वयमा होल्डिङ एरिया बनाइरहेको तिमिल्सिनाले बताए ।
इलाममा भने दुई खाले होल्डिङ एरिया बनाउने तयारी रहेको छ । तिमिल्सिनाका अनुसार भारतबाट प्रवेश गरेकालाई होटलमा बस्न चाहे होटलमा समेत बस्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रदेश सरकारसँग समन्वयमा सूर्याेदय नगरपालिकामा पनि होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको छ ।
यसका लागि आवश्यक लागत इस्टिमेट प्रदेश सरकारलाई पठाएका छौँ । इलामस्थित पशुपतिनगरबाट दैनिक ३० जनाको हाराहारीमा नेपाल प्रवेश भइरहेको उनले बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार सुनसरीमा होल्डिङ एरिया बनिसकेको उल्लेख गरेका छन् ।
उनले गाडी सञ्चालनमै रहेकाले अहिले नै होल्डिंग एरियामा नराखेको ढकालले जानकारी दिए । उनका अनुसार शंकास्पद र कोरोना पोजेटिभ देखिएकाहरुलाई भने छुट्टै गाडीमा राखेर सम्बन्धित पालिकामा पठाउने गरिएको छ । प्रदेश- १ मा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र गौरीगन्ज, मोरङको रानी र सुनसरीको भान्टाबारीलाई भारतबाट नेपाल प्रवेश गर्ने आधिकारिक नाका खुल्ला गरिएको छ । ती सबै नाकामा हेल्थ डेक्स सञ्चालन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0