प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको अवस्थाबारे जानकारी लिन आज प्रदेशस्थित आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल सम्वाद गरेका छन् ।
पछिल्लो समयमा बढ्दै गएको कोरोना महामारीको अवस्था, रोकथाम एवं नियन्त्रणका लागि जिल्लाहरुमा भइरहेको प्रयास तथा अगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमहरूबारे सुझाव लिन मुख्यमन्त्री राउतले भर्चुअल सम्वाद गरेका हुन् ।
छलफलका क्रममा मुख्यमन्त्री राउतले महामारी रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण शक्ति लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । कोरोना जाँचका लागि प्रदेश सरकारले आठवटै जिल्लामा पिसिआर मेसिन सञ्चालनमा ल्याइसकेको हुँदा जाँचमा समस्या नहुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राउतले संक्रमितको उपचारका लागि समेत प्रदेश सरकार तयारी अवस्थामा रहेको र थप तयारी समेत सुरु गरिसकेको जानकारी गराए ।
छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा होल्डिङ्ग सेन्टरहरूको निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।
भर्चुअल सम्वादमा प्रदेश सरकारका तर्फबाट प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरु सहितको सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0