कोरोना भाइरस महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कुल संक्रमितको संख्या २ करोड १५ लाख पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप तीन हजार ९१५ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २ लाख ३४ हजार पुगेको हो ।
हाल विश्वमै कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा ५ लाख ९४ हजार तथा ब्राजिलमा ४ लाख १७ हजारको ज्यान गइसकेको छ ।
भारतमा अझै पनि ३६ लाख ४५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित झण्डै ७९ हजार व्यक्ति थपिएका थिए । मन्त्रालयका अनुसार हालसम्म १ करोड ७६ लाख १२ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् ।
भारतमा कोभिड-१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।
गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ४० लाख व्यक्तिलाई कोभिड-१९ को खोप दिइसकिएको छ । अठार वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान सुरु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0