मुलुकभर कोभिड-१९ को दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । ‘फ्रन्टलाइन’मा उभिएर काम गर्ने सुरक्षा निकायमा पनि संक्रमणको दर बढ्दो छ ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामबाट प्राप्त विवरणअनुसार यहाँ कोरोना संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ प्रहरी र ५६ जना थुनुवा संक्रमित भएका छन् ।
प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले दिएको जानकारीअनुसार महोत्तरीबाहेक ७ वटै जिल्लाका प्रहरी अधिकारीमा संक्रमण देखिएको छ । सबैभन्दा बढी बारा जिल्लामा ६ जना प्रहरी कोरोना संक्रमित भएको उनले बताए ।
त्यस्तै, पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २ र सप्तरी, धनुषा तथा रौतहटमा १-१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । संक्रमितमध्ये पर्साका एक जनाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ भने बाँकीको अवस्था सामान्य छ । उनीहरु सम्बन्धित कार्यालयकै आइसोलेसनमा उपचार गराइरहेका छन् ।
यस्तै, प्रदेशमा ५६ जना थुनुवा पनि कोरोना संक्रमित भएका छन् । सबैभन्दा बढी पर्सा प्रहरीको नियन्त्रणमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, रौतहटका १०, धनुषाका ५ तथा महोत्तरी र सर्लाही प्रहरीको नियन्त्रणमा रहेका १-१ जना थुनुवामा संक्रमण देखिएको छ । सप्तरी र सिरहाका थुनुवामा हालसम्म संक्रमण देखापरेको छैन । संक्रमित थुनुवाहरुलाई पनि सम्बन्धित प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ ।
आइपर्ने जोखिम मोल्न तयार भएर यसपालिको कोभिड-१९ विरुद्धको युद्धमा होमिएका सुरक्षाकर्मी यस्तै आपतविपद र शान्तिसुरक्षामा खटिएकै बेलामा संक्रमित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0