सुदूरपश्चिम प्रदेश : एक सातामा पनि आउँदैन कोरोना रिपोर्ट

कैलालीको धनगढी उपमहानगरपालिका-२ सरस्वती नगरकी २३ वर्षीया मीना उपाध्यायलाई रुघाखोकी, ज्वरो, टाउको र शरीर दुख्ने जस्ता कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि ५ दिन अगाडि स्वाब संकलन केन्द्रमा स्वाब दिइन् । उनले ५ दिन अगाडि धनगढी उपमहानगपालिका कार्यालयको मूल गेटमा स्थापना गरिएको स्वाब संकलन केन्द्रमा थ्रोट स्वाबको नमुना दिएकी हुन् ।

‘शारीरिक रूपमा म आफूलाई निकै कमजोर महसुस गर्दैछु । कोरोना संक्रमण भइसकेको जस्तो लागेको छ, तर रिपोर्ट आएको छैन,’ उनले भनिन्, ‘भीडभाडका कारण स्वाव दिँदाकै दिन नाम टिपाएको ४ घण्टापछि पालो आएको थियो ।’

छिमेकीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि आफूलाई पनि कोरोना भएको भन्ने आशंकाले थ्रोट स्वाब दिएको उनले बताइन् । टीकापुर नगरपालिकाकी ४५ वर्षीया पवित्रा देवकोटा १८ वर्षीया छोरी र आफूलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षणका लागि पाँच दिनअघि थ्रोट स्वाबको नमुना दिएका थिए । तर, अहिलेसम्म रिपोर्ट नआएको उनले बताइन् ।

‘छोरी र मलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या थियो,’ उनले भनिन्, ‘कतै कोरोनाको संक्रमण भइहाल्यो कि भनेर गत सोमबार नगरपालिकामा गएर स्वाब दिएका थियौं । तर, आजसम्म रिपोर्ट आएको छैन । खै कहिले आउँछ ?’ 



धनगढी उपमहानगरपालिका-४ बोराडाँडीकी ४० वर्षीया महिलाले कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि वैशाख २० गते स्वाब संकलन केन्द्रमा पुगेर नमुना दिएकी थिइन् । तर, स्वास्थ्यमा समस्या बढ्दै गए पनि उनको रिपोर्ट आएको छैन ।

‘नमुना दिएको पाँच दिन पुगिसक्यो, अहिलेसम्म रिपोर्ट आएको छैन,’ उनले गुनासो गर्दै भनिन्, ‘परीक्षण गर्नै साता दिन लाग्छ । अस्पताल गयो भने कोरोना परीक्षण गराउनु होला अनि औषधी चलाउने भन्छन् । रिपोर्ट आउँदासम्म स्वास्थ्य अवस्था धेरै बिग्रिसक्ने हो कि भन्ने चिन्ता छ ।’



धनगढी उपमहानगरपालिकाले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमुना पठाउने गरेको छ । नगरपालिकाको आफ्नै प्रयोगशाला नहुँदा सेती प्रादेशिक अस्पताल पठाउनु परेको नगरपालिकाले जनाएको छ । अस्पतालमा स्वाबको चाप धेरै हुँदा समस्या भएको छ ।

उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले दैनिक कम्तीमा पनि २ सय जनाको नमुना परीक्षणका लागि पठाउने गरेकोमा साता दिन पहिलेकै रिपोर्ट आउन नसकेको बताए । ‘कैलाली र कञ्चनपुरका प्रायः सबै ठाउँबाट परीक्षणका लागि नमुना सेती प्रादेशिक अस्पतालमै आउँछ,’ मुडभरीले भने, ‘त्यहाँ चाप अत्यधिक भएकै कारण समस्या भएको जानकारी आएको छ । उहाँहरूले तत्काल थप नमुना नपठाउनु भन्नुभएको छ ।’

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले नमुनाको चाप धेरै र मेसिनको क्षमता तथा जनशक्ति कम हुँदा समस्या सिर्जना भएको बताए ।

शाहीले अहिले दैनिक बढीमा ६ सय जनाको परीक्षण भइरहे पनि अझै एक हजार २ सयभन्दा धेरै नमुना बाँकी रहेको बताए । ‘सबैतिरबाट संकलन भएका नमुना परीक्षणका लागि हामीकहाँ नै आउँछन्,’ शाहीले भने, ‘दुई दिनका लागि अझै नमुना बाँकी छ ।’

सेती अस्पतालको प्रयोगशालामा जडान गरिएको प्रयोगशालाले चाप थेग्न नसकेका बेला धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा रहेको मेसिन प्रयोगविहीन छ । दैनिक कम्तीमा पनि १ हजार जनाको नमुना परीक्षण गर्न सक्ने क्षमता भएको सो प्रयोगशालामा रहेको मेसिन सेतीमै जडान गरेर परीक्षणको दायरा बढाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले उक्त प्रयोगशाला संघीय सरकार मातहत भएका कारण मेसिनका लागि आग्रह गरिएको बताए । धनगढी उपमहानगरपालिकामा मात्र दैनिक १५० देखि ३ सय जना नमुना संकलनका लागि पुग्ने गरेका छन् ।

आफ्नो नगर क्षेत्रका मात्र नभएर कैलालीको गोदावरी, गौरीगंगा नगरपालिका, कञ्चनपुरको पुनर्वास, बेलौरी नगरपालिकाबाट समेत परीक्षणका लागि मानिसहरू यहाँ आउन थालेपछि स्वाब संकलन केन्द्रमा ठूलो भिड लाग्न थालेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । उनले स्वाब धेरै स्टक भएपछि ३ दिनका लागि लिन स्थगित गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि दैनिक सय जनाको नमुना मात्र संकलन गर्ने गरिएको पाइएको छ । अस्पतालले इमर्जेन्सी वार्ड र अन्य वार्डमा उपचारका लागि आउने ५० जना र अन्य ५० जना समेत गरेर दैनिक १ सय जनाको नमुना संकलन गर्ने गरेको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जनशक्ति अभाव र स्थानीय तहले नै स्वाब संकलन गरेर पठाउने व्यवस्था गरिएकाले यहाँ कम नमुना संकलन गरिँदै आएको बताए । सुदूरपश्चिमको अस्थायी राजधानीमै कोरोना परीक्षणका लागि नमुना दिनकै लागि तीन-तीन दिनसम्म धाउनु परिरहेका बेला प्रदेशमा संक्रमण भने तीव्र गतिमा फैलिरहेको छ ।

  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १८:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया