नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ ले होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा पारस श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको हो ।
चिकित्सकसहितको टोलीले सङ्क्रमितको स्वास्थ्य जाँच गरी औषधी तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष प्रमोद रिजालले बताए । उनका अनुसार अक्सिजन चाहिएमा वडाले घरमै व्यवस्थापन गर्ने, थप उपचार आवश्यक पर्ने सङ्क्रमितलाई उपमहानगरले सञ्चालन गरेका अक्सिजनसहितका आइसोलेसनमा राखिने र गम्भीर बिरामीलाई अस्पतालको आइसोलेसनमा पठाउने गरिएको छ ।
उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले वडा नं १ मा सुरु भएको चिकित्सकसहितको स्वास्थ्य टोली होम आइसोलेसन पुगेर उपचार गर्ने सेवा नगरका सबै वडामा विस्तार गरिने बताए ।
यसैबीच उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले नगरवासीले भण्डारण गरेको अक्सिजन ग्यासको खोजी सुरु गरिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0