प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८-१८, इलाममा ४, पाँचथर र भोजपुरमा २-२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितको संख्या ८ हजार ८८२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८०० जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४०१ महिला र ५०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
२८ दिनमा १११ को मृत्यु
प्रदेश १ मा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछिका २८ दिनमा ज्यान गुमाउनेको संख्या सय नाघेको छ । ०७८ वैशाख १ गतेदेखि २८ गते सम्मको विवरणअनुसार मृत्यु हुनेको संख्या १११ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्यधिक बढेको छ । यो साता दैनिक आठ जनाका दरले संक्रमितहरूको मृत्यु भइरहेको छ । वैशाख २२ गते एकैदिन १३ जनाको ज्यान गएको छ ।
त्यस्तै वैशाख २७ मात्रै ११ जना संक्रमितको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । संक्रमणको दोस्रो लहरपछि सोमबारसम्म ९७ जनाको मृत्यु थियो ।
मंगलबार १४ जनाको प्रदेश एकमा मृत्यु भएको छ ।
प्रदेश १ मा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५८२ रहेको छ । जसमध्ये प्रदेश १ मै स्थायी ठेगाना भएका मृतकको संख्या ५२९ पुगेको हो ।
मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो मृत्यु वैशाख ३ गते भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0