मकवानपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । दैनिक जसो कोरोना संक्रमितको मृत्यु भइरहेको छ । हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
मृत्यु हुने संक्रमितहरूमा हेटौंडा-१४ का ७४ र ४८ वर्षीया २ महिला, हेटौंडा-८ की ६१ वर्षीया महिला र हेटौंडा-२ चौकीटोलका ६४ वर्षीय एक पुरुष रहेका छन् । चारै जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक चारै जना वैशाख २६ गते यता कोरोना पोजेटिभ पुष्टि भएका बिरामी हुन् ।
उनीहरुलाई श्वासप्रश्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो । मकवानपुरमा दोस्रो चरणको कोरोना संक्रमणका कारण २८ जनाको ज्यान गएको छ भने पहिलो चरणको कोरोना संक्रमणबाट ३२ जनाको ज्यान गएको थियो ।
थप १२७ लाई कोरोना
मकवानपुरमा आइतबार थप १२७ जना नोबल कोरोना भाइरसका संक्रमित थपिएका छन् । वैशाख ३० र ३१ गते संकलित १८६ नमुनामध्ये १८६ को पिसिआर परीक्षणबाट १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । संक्रमित १२७ जनामध्ये ७ जना बालबालिका र ७५ वर्ष माथिका ४ जना जेष्ठ नागरिक समेत रहेका छन् । यस्तै निरीक्षक चौलागाईंले संक्रमितमध्ये ५९ जना महिला र ६८ जना पुरुष रहेको बताए ।
९२ जना कोरोना मुक्त
मकवानपुरमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना मुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका ९२ जना आइतबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कोरोना पुष्टि भई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका हेटौंडा नगर भित्रका ८१ जना, थाहा नगरमा २ जना मकवानपुर गढी गाउँपालिकामा २ र मनहरीमा ३ गरी जम्मा ९२ जना कोरोना मुक्त भएका हुन् । संक्रमण मुक्त हुने ९२ सँगै मकवानपुरमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार ३७२ पुगेको छ ।
कन्ट्रयाक्ट ट्रेसिङ नै छैन
लगातार कोरोना संक्रमण बढिरहे तापनि संक्रमितको सम्पर्कमा आएकाहरू क्वारेन्टाइनमा नबस्दा संक्रमितको संख्या कमी भएको छैन । कोरोना संक्रमितको रेखदेख गर्नेहरू यता–उता डुल्दा संक्रमण बढिरहेको हो । विशेष गरी होम आइसोलेसनमा बसेकाहरूका आफन्त र भेट्न आउने जानेहरूले कोरोना फैलाइरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।
संक्रमितहरू आफैं बजार नडुले तापनि संक्रमितको सम्पर्कमा आएकाहरू बजार निस्किँदा कोरोना बढिरहेको हो । अहिले मकवानपुर जिल्लामा कोरोना संक्रमितहरू अधिकांश होम आइसोलेसनमा बसेका छन् । स्वास्थ्य अवस्था कमजोरी भएकाहरूलाई मात्रै अहिले संस्थागत आइसोलेसनमा बसेका छन् । होम आइसोलेसनमा बसेकाहरू र उनीहरूको रेखदेख गर्नेहरूले ध्यान नदिँदा कोरोना संक्रमण हेटौंडामा भुसको आगो जसरी बढिरहेको छ ।
मकवानपुरको होम आइसोलेसनमा बसेकाहरूको यहाँका जिल्ला प्रशासन, स्थानीय तह र प्रदेश सरकारले उनीहरूको अवस्थाबारे कुनै ध्यान दिएको छैन । होम आइसोलेसनमा बसेकाहरूलाई नियमित स्वास्थ्य निर्देशन, हौसला समेत प्राप्त नभएका हेटौंडा ४ पारिजात पथस्थित होम आइसोलेसनमा बसिरहेकी एक संक्रमित महिलाले भनिन् ।
उनले हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखामा आफू संक्रमित भएको जानकारी गराए तापनि कुनै पनि किसिमको फलोअप नभएको बताइन् । यस्तै होम आइसोलेसनमा बसेका अन्य संक्रमितहरूले पनि आफ्नै परिवारमा भएकाहरूकै मात्रै रेखदेख पाएको बताएका छन् । उनीहरूले सरकार भएको नभएको महसुस गर्न नपाएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0