सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ । वैशाख २७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ का अनुसार उनमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिर्पोट पोजेटिभ आएको हो । सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको छ ।
थप ४३३ जनामा कोरोना संक्रमण
सेती अस्पतालमा गरिएको परीक्षणमा थप ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७५५ नमुना परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै १७६ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका १९७ जना र अन्य जिल्लाका ६० जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा १११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १ जना भेन्टिलेटरमा, १६ जना आइसियुमा, ९० जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १३ जान निको भई घर फर्किएका छन भने थप ८ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0