धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-२ का ५८ वर्षीय पुरुष, वडा नम्बर १ का ८० वर्षीय पुरुष, वडा नम्बर १७ की ३५ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
यस्तै जोशिपुर गाउँपालिका वडा नम्बर ५ की २९ वर्षीया महिला, कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ३२ वर्षीय पुरुष, डोटीको दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ का ६१ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा पछिल्लो २४ घण्टामा ५०९ जनाको नमुना परीक्षण गर्दा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीका मात्रै १८५ जना, धनगढीबाहेक कैलालीका ८१ जना, अन्य जिल्लाका ३७ जना गरी ३०३ जनाको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १२२ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १६ जना आइसियुमा र १०१ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन् भने थप ८ जना अस्पताल भर्ना भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0