कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएका परिवारलाई राहत स्वरूप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गरेको छ । पहिलो चरणमा १३२ जनालाई राहत रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमितमध्ये ३४२ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप एक जनाको मृत्यु भएको छ । यसअघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरूप १ लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका १३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केही दिनमा नै रकम वितरण गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।
हालसम्म ३४५ जनाका परिवारले क्षतिपूर्तिको मागसहित प्रदेश सरकारलाई निवेदन पेस गरेका छन् । पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको पत्र, हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, रकम दाबी कर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उपलब्ध गराएको छ ।
अन्य व्यक्तिको पनि तथ्याङ्क संकलनका क्रममा रहेकाले छिट्टै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताइन् । कोरोना पुष्टि भएका मध्ये केही मानिसहरू भारत तथा देशका अन्य प्रदेशमा मृत्यु भएका कर्णालीबासीलाई पनि प्रदेश सरकारले राहत उपलब्ध गराउने भन्दै मन्त्री नेपालीले अन्य क्षेत्रबाट पनि निवेदन आइरहेको बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0