स्थानीय तहको निर्वाचन आउन अब ४५ दिन मात्र बाँकी छ ।
स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा पनि उम्मेदवारका आकांक्षीहरूलाई चुनावको चटारोले छोइसकेको छ । यस्तो अवस्थामा दलहरूले चुनावकेन्द्रित गतिविधि गर्न सुरु गरिसकेका छन् ।
धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा राष्ट्रिय मान्यताप्राप्त दलसहित ३२ वटा दलहरू दर्ता भएका छन् ।
निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थी राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलले दल दर्ता भएको बताए ।
चुनावी अभियानसँगै नेताहरूले उम्मेदवार दिन तयारी पनि अघि बढाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा सबभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट ४ जना आकांक्षी देखिएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसबाट ३, जनता समाजवादी पार्टी, नेपालबाट ३, नेकपा एमालेबाट २ र नेकपा एकीकृत समाजवादी पार्टीबाट १ जना दाबेदार छन् ।
नेकपा माओवादी केन्द्र र जनमत पार्टीको उम्मेदवारको अहिलेसम्म बजारमा कुनै चर्चा छैन ।
२०७४ सालको निर्वाचनमा जनकपुरधामको मेयरमा १७ जना उम्मेदवारलाई पछाडि पार्दै तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार लालकिशोर साह निर्वाचित भएका थिए । २१ हजार ९०३ मतसहित साह निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १४ मत पाएका थिए ।
जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमाले तेस्रो स्थानमा थियो । एमालेका मेयर पदका उम्मेदवार लक्ष्मी नारायण भगतले ४ हजार ८६५ मत पाएका थिए । त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६१२ मत प्राप्त गरेका थिए ।
२०७४ को स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा ५१ हजार ५९९ सदर मत खसेको थियो ।
लोसपाबाट ४ जना दाबेदार
जनकपुरधामको उपप्रमुखमा रीताकुमारी मिश्रसहित १२ जना निर्वाचित वडाध्यक्षहरू हाल लोसपामै छन् ।
लोसपाबाट यसपटकको निर्वाचनमा ४ जना आकांक्षीले टिकटका लागि ‘लबिङ’ थालेका छन् । उपप्रमुख मिश्रले अब मेयर बनेर जनतालाई दिएको वाचा पूरा गर्ने बताउँछिन् ।
त्यस्तै, हाल मधेस प्रदेशको प्रदेशसभा सदस्य रहेका परमेश्वर साह पनि जनकपुरधामको मेयरका लागि आकांक्षी देखिएका छन् ।
जनकपुरधाम–७ का वडाध्यक्ष जानकीराम साहले पनि मेयरकै लागि तयारी गरिरहेका छन् भने लोसपाका नगर अध्यक्ष मनोज चौधरी पनि मेयरकै लागि लागिपरेका छन् ।
नेपाली कांग्रेसबाट को–को दाबेदार ?
३० वैशाखमा हुने निर्वाचनका लागि कांग्रेसबाट पूर्वमेयर बजरंगप्रसाद साहसहित ३ जना आकांक्षी छन् । साहसँगै विमलेन्द्र निधि समूहबाट वर्तमान नगरसभापति मनोज साह र उपसभापति राकेशविक्रम साहको नाम पनि चर्चामा छ ।
२०७४ सालमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका राकेशले २ हजार ४६८ मत ल्याएका थिए ।
कांग्रेस जनकपुरधामको नगरउपसभापति राकेश आफ्नो दाबी सशक्त रहेको बताउँछन् । यता, मेयर पदका अर्का आकांक्षी मनोज साह भने आफू अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेको र निरन्तरको आफ्नो कामबाट अनुभवप्राप्त गरेकोले पार्टीले फेरि आफूलाई टिकट दिने बताउँछन् । नगरसभापति साह नगर सभापति मेयरको उम्मेदवार बन्ने परम्परा भएका कारण आफू दाबेदार रहेको दाबी गर्छन् ।
एमालेमा अहिलेसम्म दुई आकांक्षी
जनकपुरधाममा नेकपा एमालेबाट मेयरमा दाबी गर्नेमा उद्योग वाणिज्य संघ मधेस प्रदेशका पूर्वअध्यक्ष हीरा साहसहित दुई जना छन् ।
एमाले नेतृत्वले आफूलाई अवसर दिए आफू उम्मेदवार बन्न तयार रहेको साह बताउँछन् । नेतृत्वले युवालाई अवसर दिनुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ । उनले आफूले अवसर पाए स्थानीय तहको निर्वाचनमा जित्ने दाबीसमेत गरे ।
यता, एमालेका जेनु पात्र उमेश चौधरीले पनि मेयरमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् । अघिल्लो निर्वाचनमा पनि आफ्नो नाम सिफारिस भएको बताउँदै उनले आउँदो निर्वाचनमा पार्टीले टिकट दिए निर्वाचन जित्ने बताए । उनी राजनीतिमा जाँगर रहे पनि परिस्थितिले पछाडि परेको सुनाउँछन् । उनी भन्छन्, ‘योगदान र अतीतको मूल्यांकन नगर्ने हो भने सवैको खराब समय निश्चित छ ।’
जसपाका तीन उम्मेदवार
जनकपुरधामको मेयरमा जसपाबाट ३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा जनकपुरधामका वर्तमान नगरप्रमुख लालकिशोर साह पुनः दोस्रो कार्यकालका लागि मेयरका आकांक्षी छन् ।
उनले नगरप्रमुखको उम्मेदवारमा पुनः आफ्नो दाबी रहने बताए । ‘मेयरमा पुनः दोस्रो कार्यकालका लागि मेरो दाबेदारी रहन्छ,’ उनले भने ।
जसपा नेता विष्णुदेव चौधरी र बजरंगप्रसाद यादवले पनि मेयरमा दाबेदारी प्रस्तुत गरेका छन् ।
गत चुनावमा आफूले पराजय भोगे पनि विष्णुदेवले ३० वैशाखमा हुने निर्वाचनमा आफूले फेरि पार्टीबाट टिकट पाउने दाबी गर्छन् ।
बजरंगले पनि मेयरको टिकट आफूले पाए चुनाव जित्ने बताउँछन् ।
यता, नेकपा एकीकृत समाजवादी पार्टीबाट जनकपुरधामको मेयर पदका लागि डा. अजय झाको नामसमेत चर्चामा रहेको छ ।
५९६ मतदान केन्द्र, ३२३ मतदानस्थल
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषा जिल्लामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५९६ पुगेको छ ।
जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेका छन् ।
निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम धनुषा जिल्लाका लागि जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेललाई २९ चैतदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
त्यस्तै, निर्वाचन आयोगले औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव रजेश शशी, कमला नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला, क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रूपेश कुमार साह, जनकनन्दनी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठूलोबाबु दाहाललाई निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै, धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चीरञ्जीवी गौतम, धनौजी गाउँपालिकामा उच्च सरकारी वकील कार्यालय जनकपुरका उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नगरपालिकामा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुदीपकुमार दंगाल, बटेश्वर गाउँपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोडारी, मिथिला नगरपालिकामा न्याय परिषद्का उपसचिव दीपक धिताल, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याललाई निर्वाचन अधिकृत बनाइएको छ ।
उता, लक्ष्मीनिया गाउँपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चुडामणि फुँयाल, मिथिला बिहारी नगरपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीदनगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत बासुदेव पाण्डे र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ ।
आगामी ३० वैशाख हुने स्थानीय तहको निर्वाचनमा धनुषामा मात्रै ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् । जसमध्ये महिला २१ लाख ८ हजार ५४२, पुरुष २४ लाख ८ हजार ८४० र अन्य समूहका ६ जना छन् ।
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन अभिमुखीकरण कार्यक्रम १ वैशाखमा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, धनुषा र रौतहटका लागि जनकपुरधाममा र बारा र पर्साका लागि २ वैशाखमा हेटौँडामा गर्ने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0