नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा. शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका हुन् ।
सभापति शेरबहादुर देउवाले समानुपातिक बन्द सूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाहविनै सूची बनाएको, एकलौटी र एकपक्षीय ढङ्गले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।
कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्द सूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा कोइराला समूहका १३ जना मात्रै परेपछि सो पक्षका नेता कार्यकर्ता आन्दोलित भएका हुन् । कोइराला समूह एमालेसँग मिलेर चुनावमा जान सक्ने देखिएपछि देउवा पक्ष लचक बनेको हो ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः ब्याक भएका हुन् । देउवा पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउन समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न तयार भएका हुन् । शेखर कोइराला र गगन थापाको समूहले छुट्टै भेला–सभा गर्नुका साथै चुनावमा विद्रोह गर्ने चेतावनी दिएपछि देउवा निर्वाचन आयोगमा असोज ३ मै बुझाइएको प्रारम्भिक सूची हेरफेर गर्न तयार भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0